गण्डकी क्रिकेट टोलीको खेल पोशाक अनावरण, पोखरा कप क्रिकेट च्याम्पियनसिप गर्ने मेयर आचार्यको घोषणा

पोखरा स्पोर्ट्स । पोखरामा आयोजित एक विशेष कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ खेल पोशाक (स्पोर्ट्स किट) औपचारिक रूपमा अनावरण गरिएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकी क्रिकेट टोलीको खेल पोशाक अनावरण तथा खेलाडीहरूलाई हस्तान्तरण गर्दै पोखरालाई खेलकुदको स्पोर्ट्स हबका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताए । उनले खेलकुद पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि महानगरले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।

यसै अवसरमा मेयर आचार्यले पोखरामा छिट्टै ‘पोखरा कप अन्तर–महानगर क्रिकेट च्याम्पियनसिप’ आयोजना गरिने घोषणा समेत गरेका छन् । उक्त प्रतियोगिताले देशभरका महानगरहरूबीच क्रिकेटको प्रतिस्पर्धात्मक वातावरण सुदृढ बनाउने र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । खेलाडीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरूले उनीहरूमा आत्मविश्वास, उत्साह र खेलप्रतिको प्रतिबद्धता अझ बढाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य सुदिप शर्माले खेलाडीहरूको सुविधा विस्तारसँगै उनीहरूको सीप र क्षमताको विकासमा क्यानले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए । उनले खेलाडीहरूलाई दबाबमुक्त वातावरणमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसर उपलब्ध गराउन क्यान प्रतिबद्ध रहेको बताए । साथै, पोखरालाई ‘क्रिकेट सिटी’ का रूपमा स्थापित गर्न प्रदेश सरकार र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा उनले जोड दिए ।

सोही कार्यक्रममा खुमा फाउन्डेशनका अध्यक्ष लेखनाथ शर्माले खेलकुद क्षेत्रको समग्र विकासका लागि आफ्नो संस्थाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको सहभागिताले खेलकुद विकासमा थप गति आउने विश्वास व्यक्त गरे ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकाश पौडेल, सचिव सुमनराज कार्की लगायतले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट टोलीलाई खेल पोशाक उपलब्ध गराउने भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीप्रति आभार व्यक्त गरिएको थियो ।

गण्डकी प्रदेश टोलीले अब एक सातापछि सुरु हुने केन्द्रीयस्तरको पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेको छ । सो प्रतियोगिताका लागि प्रादेशिक क्रिकेट संघ गण्डकीले पहिलो चरणमा २७ जना खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । ती खेलाडीहरूमध्येबाट प्रदर्शनका आधारमा पाँच दिनपछि अन्तिम १४ सदस्यीय टोली घोषणा गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close