जी.एम कप पुरुष राष्ट्रिय भलिबलः गण्डकी उपाधी नजिक, आर्मीसँग फाइनलमा भिड्दै

पोखरा स्पोर्ट्स । नवलपुरको कावासोतीमा जारी दोस्रो जी.एम कप पुरुष राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश भलिबल टोली उपाधी नजिक पुगेको छ । भर्खरै सम्पन्न सेमीफाइनलमा गण्डकीले विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबलाई संघर्षपूर्ण खेलमा ३–२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारी वर्षा र हावाहुरीका कारण सोमबार रद्ध भएको खेल आज सुचारु भए सँगै गण्डकीले पहिलो सेट भने खराब सुरूवात गर्यो । पहिलो सेट १९–२५ ले एपिएफलाई सुम्पिएको खेलमा दोस्रो सेट २५–१५ ले जित्दै आफ्नो जितको लयलाई अघि बढायो । तेस्रो सेटमा भने एपिएफले गण्डकीलाई पुनः निराश बनायो । गण्डकीले २२–२५ ले गुमायो ।

तर चौथो र पाँचौ सेटमा भने गण्डकीका टिम कप्तान सञ्जु विक्रम शाह नायक बने । उनको उत्कृष्ट प्रदर्शनमा गण्डकीले चौथो सेट २५–१६ र पाँचौ सेट १५–१३ ले जित्दै उपाधी नजिक आफूलाई उभ्यायो । खेलमा सञ्जु म्यान अफ दि म्याच बने ।

आज नै हुने तेस्रो र चौथो स्थानको लागि एपिएफ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् भने फाइनल खेल आज नै नेपाल आर्मी क्लब र गण्डकीका बीच हुने प्रतियोगिताका जुरी प्रमुख याम बहादुर गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ तथा चौथो हुने टोलीले सान्त्वना स्वरूप ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

जी।एम सोसाइटी र नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रवर्द्धक प्रदेश खेलकुद परिषद् गण्डकी रहेको छ । 
तस्विरः विराज शर्माको वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close