जी.एम कप पुरुष राष्ट्रिय भलिबलः आर्मी फाइनलमा, गण्डकी र एपिएफको खेलमा वर्षा बाधक

पोखरा स्पोर्ट्स । नवलपुरको कावासोतीमा जारी दोस्रो जी.एम कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले बलियो मानिएको अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

सोमबार भएको पहिलो सेमिफाइनलमा आर्मीले सुरुदेखि नै पुलिसमाथि दबाब बनायो । कडा प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लियो । दोस्रो सेटमा पनि आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित हात पार्यो । तेस्रो सेटमा पुलिसले संघर्ष गरे पनि आर्मीले २५–२३ ले जित्दै ३–० को सोझो सेटमा खेल समाप्त गरी फाइनल यात्रा तय गर्यो ।

यता गण्डकी प्रदेश भलिबल टोली र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ । एभिसी अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा प्रतियोगिताका रेफ्री डेलिगेट टहल सिंह थापा मगरका अनुसार चौथो सेट सुरु हुनुअघि एक्कासी आएको हावाहुरी र वर्षाका कारण खेल रोक्नुपरेको हो ।

खेलमा गण्डकीले पहिलो सेट २५–१४ ले जितेको थियो भने दोस्रो सेट एपिएफले २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट गण्डकीले २५–२३ ले जित्दै २–१ को अग्रता बनाएको अवस्थामा खेल स्थगित गरिएको हो ।

स्थगित खेल मंगलबार बिहान पुनः सुरु गरिने रेफ्री डेलिगेट थापाले जानकारी दिएका छन् । साथै तेस्रो स्थानको खेल र फाइनल पनि मंगलबार नै आयोजना गरिने छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ तथा चौथो हुने टोलीले सान्त्वना स्वरूप ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

जी.एम सोसाइटी र नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रवर्द्धक प्रदेश खेलकुद परिषद् गण्डकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close