
पोखरा स्पोर्ट्स । पोखरामा जारी पीएम कप गण्डकी प्रदेश छनौट एकदिवसीय प्रतियोगिताको सेमीफाइनलअन्तर्गत नवलपुरले स्याङ्जालाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । यो जितसँगै नवलपुर भोली (मंगलबार) हुने फाइनलमा कास्कीसँग भेट पक्का गरेको छ ।
पोखरा रंगशाला क्रिकेट खेल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नवलपुरले ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रनको बलियो स्कोर खडा गरेको थियो ।
नवलपुरका लागि अनिश गुरुङ उत्कृष्ट प्रदर्शन गर्दै ८२ बलमा ६ चौका र २ छक्कासहित ६० रन बनाए । त्यसैगरी गौरव विश्वकर्माले ६५ बलमा ५२ रन तथा प्रमिश अर्यालले ४७ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिए । अन्त्यतिर कप्तान कमल परियारले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रन जोडे ।
स्याङ्जाका लागि तुलसीराम भण्डारी सबैभन्दा सफल बलर सावित भए । उनले १० ओभरमा ३ विकेट लिए भने सन्दीप खत्री क्षेत्रीले २ विकेट हात पारे ।
२७१ रनको लक्ष्य पछ्याएको स्याङ्जा ४५.२ ओभरमा १९८ रनमै समेटियो । स्याङ्जाका लागि सन्देश पन्थीले १०७ बलमा ६७ रन बनाउँदै संघर्ष गरे भने सुजन गौतमले ५० बलमा ३८ रन जोडे । अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन् ।
नवलपुरका बलरहरू मध्ये अपराजित पौडेलले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा मात्र २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै अनिश गुरुङले पनि ३ विकेट लिए भने काशिस सुबेदीले २ विकेट झारे । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका अनिश गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।