
पोखरा स्पोर्ट्स । नवलपुरको कावासोतीमा जारी दोस्रो जी.एम कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न क्वार्टरफाइनल खेलमा गण्डकीले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो ।
प्रतियोगिताका रेफ्रि डेलिगेट टहल सिंह थापा मगरका अनुसार २५–२१ र २५–२० ले पहिलो र दोस्रो सेट जितेको गण्डकीले तेस्रो सेट २२–२५ ले कोशीलाई सुम्पियो । तर चौथो सेटमा खेलमा फर्किदैं २५–२१ ले जित्दै सेमीफाइनल यात्रा तय गर्न सफल रहयो । खेलमा गण्डकीका सन्तोष विक म्यान अफ दि म्याच बने । अब गण्डकीले भोली हुने सेमीफाइनलमा शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गरेको छ ।
यता गण्डकीसँग सेमीफाइनलमा भेट पक्का गरेको एपिएफ क्लबले कर्णाली प्रदेशलाई २५–२१, २५–१९ र २५–२१ को सोझो सेटमा जित हात पारेको हो । सो खेलमा एपिएफका सुरेन्द्र केसी म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै एक अर्को क्वार्टरफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबले लुम्विनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल आर्मी क्लब संग सेमीफाइनलमा भिड्ने भएको छ । नेपाल पुलिसले २५–१८, २५–१३ र २५–१८ ले पराजित गर्यो । खेलमा नेपाल पुलिसका रविन नगरकोटी म्यान अफ दि म्याच बने ।
आइतबार नै भएको अर्को क्वार्टरफाइनलमा नेपाल आर्मीले सुदुर पश्चिम प्रदेशलाई ३–२ को सेटमा हराएको छ । २५–१३ र २५–१८ ले दुई सेट जित्दै अघि बढेको आर्मीलाई तेस्रो सेटमा भने सुदुर पश्चिमले रोक्यो । तेस्रो सेट २५–२७ ले गुमाएको आर्मीले चौथो सेट समेत २१–२५ ले गुमायो । तर अन्तिम तथा पाँचौ सेटमा आर्मीले आफ्नो अनुभव मैदानमा निर्खादै १५–१२ ले खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । खेलमा आर्मीका शरण सामरी म्यान अफ दि म्याच बने ।
क्वार्टरफाइनल समिकरण पुरा भए संगै कोशी, मधेश, कर्णाली र सुदुर पश्चिम प्रतियोगिताबाट बाहिरिएका छन् । चैत्र ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीसहित विभागिय टिम नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लब, कोशी, बागमती, मधेश प्रदेश, लुम्बिनी, र कर्णाली प्रदेश गरी १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता टिमले नगद रु ३ लाख, उपविजेताले २ लाख, तृतियले १ लाख र चौथो हुने टिमले सान्तवना स्वरुप ५० हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । जी.एम सोसाइटी (समाज) र नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ ।
