नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा पहिलो पटक ‘रात्रि दौड प्रतियोगिता’ आयोजना हुने

पोखरा स्पोर्ट्स । नेपाली नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा पर्यटकीय राजधानी पोखरामा ‘रात्रि दौड प्रतियोगिता’ आयोजना हुने भएको छ । चैत २८ गते हुने उक्त प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पहिलो पटक सञ्चालन हुन लागेको हो ।

पाँच किलोमिटर दूरीको यो दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्यूरोड र महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगिताको खुला विधातर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसका साथै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधामा विजेतालाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल पर्यटनमार्फत पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले क्रियाशील दुई संस्था पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताका संयोजक दीननाथ बरालका अनुसार यसअघि पोखरा क्लिकले पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

पोखरा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले अङ्ग्रेजी नयाँ वर्षमा पर्यटन प्रवद्र्धनका कार्यक्रम बढी हुने गरे पनि नेपाली नयाँ वर्षमा त्यस्ता कार्यक्रम कम हुने भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणासहित रात्रि दौड आयोजना गर्न लागिएको बताए ।

रात्रिकालीन दौडमार्फत पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकसाथ प्रवर्द्धन गर्दै पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य आयोजक संस्थाको रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि पोखरा महानगरपालिका, वडा कार्यालय, सुरक्षा निकाय तथा पर्यटन र खेलकुदसँग सम्बन्धित विभिन्न संघ–संस्थासँग सहकार्य गरिने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । धावकहरूको सुरक्षा, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिँदै प्रतियोगितालाई सुरक्षित, आकर्षक र सफल रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close