
पोखरा स्पोर्ट्स । पोखरामा कार्यरत पत्रकारहरूको खेलकुदसम्बन्धी रिपोर्टिङ क्षमतामा सुधार ल्याउने उद्देश्यले आयोजित दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिममा पोखरामा सक्रिय पत्रकारहरूलाई विभिन्न खेलका नियम, खेलसम्बन्धी समाचार लेख्ने तरिका तथा खेलकुद रिपोर्टिङका आधारभूत पक्षबारे प्रशिक्षण दिइएको थियो । खेल पत्रकारितामा आवश्यक ज्ञान र सीप अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिममा क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फका जिवाराम गुरुङ, मार्शलआर्टका प्रशिक्षक सुवास खड्का, भलिबलका राजन पौडेल, तथा फुटबल सम्वन्धि खेल पत्रकार हिमेश रत्न बज्राचार्यले आ–आफ्ना विषयमा प्रशिक्षण दिएका थिए ।
समापन समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले यस्ता तालिमले सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको क्षमता विकासका साथै लेखन शैलीमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको मेहनत, लगनशीलता र उपलब्धिलाई जनतासम्म पुर्याउने मुख्य माध्यम खेल पत्रकार भएको बताए । उनले खेलका नियम र प्रणालीलाई राम्रोसँग बुझेर समाचार सम्प्रेषण गर्न तालिम उपयोगी हुने उल्लेख गरे । गण्डकी प्रदेशमा सक्रिय खेलाडी, प्रशिक्षक, खेलकुद संघसंस्था तथा सरोकारवालाका लागि यस्ता कार्यक्रमले खेलकुद विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाई थियो ।
सहभागी पत्रकार कमल पौडेल (अथक)ले प्रत्यक्ष खेलस्थलमै पुगेर प्रशिक्षण लिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यसले खेलसम्बन्धी समाचार लेख्दा आउने कठिनाइ कम हुने विश्वास व्यक्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्था)ले तालिमबाट सहभागीहरूले नयाँ ज्ञान हासिल गरेको बताउँदै आगामी दिनमा खेलकुद समाचार उत्पादन र प्रसारणमा सहजता आउने अपेक्षा व्यक्त गरे ।
तालिमका सहभागीहरूलाई मञ्चका अध्यक्ष आस्था, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका सल्लाहकार सुरज श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । सो तालिममा ६५ जनाको सहभागिता रहेको ञ्चका महासचिव परशुराम शर्माले जानकारी दिएका छन् ।
