
पोखरा स्पोर्ट्स । नवलपुरमा जारी जीएम कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिन (शनिबार) लिग चरणका समिकरण पुरा भएका छन् ।
लिग चरणको तेस्रो दिनको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब तथा घरेलु टोली गण्डकीले आ–आफ्ना खेल जित्दै समुहको शिर्ष स्थानमा कायम हुन सफल भएको प्रतियोगिताका रेफ्रि डेलिगट एवं अन्तर्राष्ट्रिय एभिसी रेफ्रि टहल सिंह थापा मगरले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।
शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५–१२, २५–१८ र २५–१९ को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थान सुरक्षित गरेको छ । सो खेलमा नेपाल पुलिसका पहल गहतराज प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई २५–१४, २५–१३ र २५–२२ ले पराजित गरेको छ । सम्पन्न खेलमा आर्मीका देव बहादुरा राना प्लेयर अफ दि म्याच घोषित भए । आर्मीले यो खेल जिते संगै समुह बीमा आफ्ना दुबै खेल जित्दै ६ अंकका साथ शिर्ष स्थान बनाएको छ ।
यसैगरी शनिबार सम्पन्न तेस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२१ ले जितेको गण्डकीले दोस्रो सेट २५–११ ले जित्दै लुम्बिनीलाई दबाबमा राख्न सफल भयो। तर तेस्रो सेटमा लुम्बिनी खेलमा फर्किँदै २५–२३ ले सेट आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गण्डकीका कप्तान सन्जु विक्रम शाहको उत्कृष्ट प्रदर्शनमा गण्डकीले २५–२० ले जित हात पार्दै खेल ३–१ ले आफ्नो पक्षमा पार्यो । उक्त खेलमा सन्जु विक्रम शाह प्लेयर अफ दि म्याच घोषित भए । गण्डकीले ३ अंकसहित समूह ‘सी’ को शीर्ष स्थान बनाएको छ।
लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा तेस्रो दिन सम्म लिग चरणका ८ खेलहरु सम्पन्न भएको र आइतबारबाट क्वार्टरफाइनलका खेलहरु सुरू हुने रेफ्रि डेलिगेट थापाले जनाएका छन् । भोली (आइतबार) चार क्वार्टरफाइनल खेलहरु हुनेछन् । जस मध्ये पहिलो क्वार्टरफाइनल खेलमा लुम्बिनीले पहिलो संस्करणको उपाधी बिजेता नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल समुह बीको शिर्ष स्थानमा रहेको नेपाल आर्मी क्लब र सुदुर पश्चिम प्रदेशका बीच हुनेछ । आर्मी गत सस्करणको उपविजेता समेत हो ।
त्यस्तै तेस्रो खेल गण्डकी प्रदेश र कोशीका बीच हुनेछ । गत संस्करणमा गण्डकीले तेस्रो स्थान हात पारेको थियो । तर यो पटक भने उपाधी जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । गण्डकीले दुई युवा खेलाडीलाई डेब्यु गराउँदै नयाँ योजनाका साथ मैदानमा उत्रिएको हो । यस्तै चौथो खेल शसस्त्र प्रहरीको एपिएफ क्लब र कर्णाली प्रदेशका बीच हुनेछ ।
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदपछि पहिलो पटक सातै प्रदेश र विभागीय टोलीहरू जीएम कप मार्फत एकै प्रतियोगितामा प्रतिस्पर्धा गर्न आएका हुन् । दशौं राष्ट्रिय खेलकुदको अन्योलका बीच भलिबलको प्रतिष्ठा जोगाउन यो प्रतियोगिता महत्वपूर्ण बनेको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भलिबलका लागि महत्वका साथ आयोजना गरिएको प्रतियोगितामा सबैको साथ र सहयोग अपेक्षित रहेको उल्लेख गरेका छन् ।
चैत्र ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीसहित विभागिय टिम नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लब, कोशी, बागमती, मधेश प्रदेश, लुम्बिनी, र कर्णाली प्रदेश गरी १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेता टिमले नगद रु ३ लाख, उपविजेताले २ लाख, तृतियले १ लाख र चौथो हुने टिमले सान्तवना स्वरुप ५० हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । जि.एम सोसाइटी (समाज) र नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ ।