आइची-नागोया एसियाली खेलकुदको प्रवर्द्धनका लागि काठमाडौँमा ‘फन रन’ सम्पन्न

पोखरा स्पोर्ट्स । जापानको आइची-नागोयामा आयोजना हुने आगामी एसियाली खेलकुदको प्रवर्द्धन तथा सफलताका कामनासहित शनिबार काठमाडौँमा ‘एसियन गेम्स फन रन’ सम्पन्न भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उक्त फन रन आयोजना गरेको हो ।

एनओसी भवनको प्राङ्गणबाट सुरु भएको फन रन बि एन्ड बि हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसि, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि र हौग हुँदै पाटन दरबार स्क्वायरको कात्तिक डबली, मङ्गलबजारमा पुगेर समापन गरिएको थियो ।

फन रनमा एसियाली खेलकुदमा सहभागी हुने विभिन्न खेलका खेलाडी र प्रशिक्षकसँगै अन्य खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघ–संस्थाका पदाधिकारी, कूटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा सञ्चारकर्मी गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो ।

समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फन रन केवल आइची–नागोया एसियाडको प्रवर्द्धनका लागि मात्र नभई जापानमा हुने उक्त प्रतियोगितामा नेपालको सहभागिता सन्देश दिन तथा प्रतियोगिताको सफलताको कामना व्यक्त गर्न आयोजना गरिएको बताए ।

यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस प्रकारका गतिविधिले ओलम्पिकको मूल्य र भावनालाई समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा ओलम्पिक काउन्सिल अफ एसियाका डिपुटी डाइरेक्टर विनोदकुमार तिवारी, आइची–नागोया एसियन गेम्स आयोजक समितिका मिडिया तथा पिआर निर्देशक फुमिहितो कानाइजुका र सोही विभागका म्यानेजर मानामी ओकुमुरा विशेष अतिथिका रूपमा उपस्थित थिए ।

फन रनको समापन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सहभागीहरूका लागि एसियाली खेलकुदसम्बन्धी क्विज सत्र पनि सञ्चालन गरिएको थियो । सही उत्तर दिने सहभागीलाई आगामी एसियाली खेलकुदको मस्कट ‘हानोहोन’ पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको यो फन रनको तेस्रो संस्करण हो । यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको जाकार्ता–पालेमबाङ एसियाड र सन् २०२२ मा चीनमा भएको हाङझाउ एसियाडको प्रचारका लागि पनि यस्तै कार्यक्रम आयोजना गरिएको थियो । यस वर्षको फन रन एनओसीका सचिव रामकृष्ण श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close