
पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) गण्डकी प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा जारी दोस्रो दिनको खेलमा कास्कीले नवलपुरलाई ९६ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको हो । कास्कीका लागि अर्जुन कुमालले उत्कृष्ट ९१ रन (९१ बल, ६ चौका, ४ छक्का) बनाउँदै टोलीलाई बलियो सुरुवात दिलाए । सिब्रिन श्रेष्ठले आक्रामक खेल देखाउँदै ४४ बलमा ६ चौका, ५ छक्काको मद्धतले ६८ रन जोडे । साथै सुभाष भण्डारीले अविजित ४० रन बनाए ।
नवलपुरका बलरमध्ये अनिश गुरुङले ३ विकेट, कमल परियारले २ विकेट, अपराजित पौडेल, सुदीप आर्याल र काशिस सुबेदीले समान १–१ विकेट लिए ।
२८२ रनको लक्ष्य पछ्याएको नवलपुरले राम्रो सुरुवात गर्न सकेन । नवलपुर ४४.२ ओभरमा १८५ रनमा अलआउट भएपछि कास्कीले महत्वपूर्ण जित हात पार्यो । नवलपुरका लागि रिजन काफ्लेले सर्वाधिक ५८ रन बनाए भने बिज्ञान पाण्डेले २८ रन जोडे भने कमल परियार र सुदिप अर्यालले समान २२–२२ रन जोडे ।
कास्कीको जितमा कप्तान विपिन खत्री नायक बने । उनले उत्कृष्ट बलिङ गर्दै ८.२ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । सागर भुजेलले २ विकेट तथा कृष्ण पौडेल र सिब्रिन श्रेष्ठले १–१ विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि विपिन खत्री प्लेयर अफ द म्याच घोषित भए ।
यस जितसँगै कास्कीले समूह ‘ए’ मा लगातार दोस्रो जित दर्ता गर्दै प्रतियोगितामा बलियो दाबी प्रस्तुत गरेको छ ।
यस्तै, पीएम कप पुरुष एकदिवसीय गण्डकी प्रदेश छनोट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको चौथो खेलमा स्याङ्जाले पर्वतलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । खेल शुक्रबार लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा स्याङजाले पर्वतलाई ५ विकेटले जित हात पारेको हो ।
२० ओभर छोट्टाइएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको पर्वतले पहिले ब्याटिङ गर्दै ३० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो । पर्वतका लागि रोहित कुँवरले ५५ बलमा अविजित ३५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । उनले २ चौका र २ छक्का प्रहार गरे । अभिषेक थापाले २२ रन जोड्दा बिनोद नेपालीले अन्त्यतिर तीव्र गतिमा ६ बलमा १५ रन बनाए । तर अन्य ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा टोली मध्यम स्कोरमै सीमित भयो ।
यता स्याङ्जाका बलरहरू अनुशासित देखिए । तुलसीराम भण्डारीले ६ ओभरमा १६ रन खर्चेर २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । त्यस्तै प्रदीप पाण्डे, किरण भट्टराई, करण पंगेनी र सन्देश पन्थीले समान १–१ विकेट लिए ।
११८ रनको लक्ष्य पछ्याएको स्याङ्जाले २२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
स्याङ्जाका लागि करण पंगेनीले ४६ बलमा अविजित ४१ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याए । उनले २ चौका र ३ छक्का प्रहार गरे । सन्देश पन्थीले ३२ रन योगदान गर्दा ईश्वर क्षेत्रीले ८ बलमा १५ रन बनाउँदै आक्रामक सुरुआत दिलाए ।
पर्वतका लागि बिनोद नेपालीले १९ रन खर्चेर २ विकेट लिए । त्यस्तै विकास क्षेत्री र राजु थापाले समान १–१ विकेट लिए ।
यस जितसँगै समूह ‘बी’ मा स्याङ्जाले लगातार दोस्रो जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाएको छ ।