
पोखरा स्पोर्ट्स । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले २० औँ एसियाली खेलकुदको प्रचार–प्रसार तथा खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यले ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने भएको छ । सो कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले फागुन ३० गते शनिबार बिहान ७ः३० बजे फन रन आयोजना हुने सँगै तयारी पुरा भएको जानकारी दिएका हुन् ।
एनओसी भवनको प्राङ्गणबाट सुरु हुने फन रन बि एन्ड बी अस्पताल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसि, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि र हौग हुँदै पाटन दरबार स्क्वायरस्थित कात्तिक डबली, मङ्गलबजारमा पुगेर समापन हुनेछ । करिब ३ किलोमिटरको दूरी रहेको यस रुटमा सहभागीहरुले पाटनका ऐतिहासिक सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पनि पाउनेछन् ।
एसियाली खेलकुदको प्रचार तथा खेल भावना, एकता र सहभागिताको सन्देश फैलाउन एसियाका अधिकांश राष्ट्रले एसियाडअघि फन रन आयोजना गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार नेपाल ओलम्पिक कमिटीले पनि यस कार्यक्रम आयोजना गर्न लागेको हो। विगतका एसियन गेम्सअघि पनि एनओसीले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।
फन रन सफलतापूर्वक सम्पन्न गर्न एनओसीका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति गठन गरिएको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकाय, विद्यार्थी र सञ्चारकर्मी गरी करिब एक हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको एनओसीले जनाएको छ ।
कार्यक्रममा ओलम्पिक काउन्सिल अफ एसियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची–नागोया एसियन गेम्स आयोजक समितिका मिडिया तथा पिआर निर्देशक फुमिहितो कानाइजुका तथा सोही विभागका म्यानेजर मानामी ओकुमुरा लगायतको विशेष उपस्थिति रहने बताइएको छ ।
यसैबीच, आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोया शहरमा हुने २० औँ एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेल दर्ता भइसकेको एनओसीले जनाएको छ । उक्त एसियाडमा ४३ खेलअन्तर्गत ६८ विधाका ४६१ इभेन्ट्समा पदकका लागि प्रतिस्पर्धा हुनेछ भने कुल ५३ प्रतियोगिता स्थल रहनेछन् । साथै यसपटक प्याडल र टेकबल खेलसमेत थप गरिएको जानकारी दिइएको छ ।
एनओसीले नेपालमा आयोजना हुने एसियाड फन रनलाई भव्य बनाउने लक्ष्य लिएको जनाएको छ । साथै शनिबार बिहान हुने फन रनमा सहभागी हुन सबैलाई आग्रह पनि गरिएको छ ।
