
पोखरा स्पोर्ट्स । बारबाडोसमा भएको २०२३-२४ बिम-१० प्रतियोगिताका क्रममा खेल फिक्सिङ गरेको आरोपमा वेस्ट इन्डिजका तेज बलर तथा अलराउन्डर जावोन सर्ल्सलाई निलम्बन गरिएको छ । यसैसँगै टाइटन्स फ्रेन्चाइजका मालिक चित्ररंजन राठौड़ र टोली अधिकारी ट्रेभन ग्रिफिथलाई पनि सबै प्रकारको क्रिकेटबाट निलम्बन गरिएको छ ।
क्रिकेट वेस्ट इन्डिजको भ्रष्टाचार विरोधी संहिता अनुसार सर्ल्समाथि चार वटा आरोप लगाइएको छ । सर्ल्स वेस्ट इन्डिज यू-१९ टोलीको प्रतिनिधित्व गरिसकेका छन् । उनले क्यारिबियाली प्रिमियर लिगमा त्रिनबागो नाइट राइडर्सका लागि खेलिसकेका छन् भने २०१८ मा आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि पनि खेलिसकेका छन् ।
तीनै व्यक्तिमाथि मैच फिक्सिङ, खेलाडीहरूलाई भ्रष्ट गतिविधिमा उक्साउने र अनुसन्धानमा सहयोग नगरेको आरोप लगाइएको छ । सर्ल्स र ग्रिफिथमाथि भ्रष्ट प्रस्तावको जानकारी अधिकारीलाई नदिएको आरोप पनि छ । ग्रिफिथमाथि अनुसन्धानमा अवरोध पुर्याउने र जानकारीमा हेरफेर गरेको आरोप पनि छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीस) ले तीनैलाई ११ मार्च २०२६ बाट १४ दिनभित्र यी आरोपमा जवाफ दिनुपर्ने सूचना दिएको छ । यसअघि अमेरिकाका ब्याट्सम्यान आरोन जोन्समाथि पनि पाँच वटा आरोप लगाइसकेको छ ।
बिम-१० वेस्ट इन्डिजको सीमित ओभर प्रतियोगिता हो, जसमा हरेक टिमले १०-१० ओभरको पारी खेल्छ । प्रतियोगितामा वॉयजर्स, गार्डियन्स, टाइटन्स, सेटलर्स, वारियर्स र पेलिकन्स गरी छ टिम भाग लिन्छन् । यो प्रतियोगिता अन्तिम पटक २०२३-२४ मा सम्पन्न भएको थियो ।
