
पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) गण्डकी प्रदेश छनोट एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा स्याङ्जाले तनहुँलाई ४४ रनले पराजित गरेको छ । पोखराको लेखनाथस्थित एडन हेभेन्स क्रिकेट मैदानमा भएको खेलमा स्याङ्जाले दिएको २३३ रनको लक्ष्य पछ्याएको तनहुँ ३९ ओभरमा १८८ रनमै अलआउट भएको हो ।
तनहुँका लागि दिनेश बुद्ध मगरले सर्वाधिक ७४ रनको अविजित पारी खेले । उनले ८४ बलमा १० चौका र २ छक्का प्रहार गरे । क्रिश ऐरले १७ बलमा ३२ रन तथा वंश क्षेत्रीले २६ रन बनाए पनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् ।
स्याङ्जाको जितमा किरण भट्टराईले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए । तुलसीराम भण्डारीले १० ओभरमा २६ रन दिँदै २ विकेट तथा प्रदीप पाण्डेले २ विकेट लिए । सन्देश पन्थीले पनि १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो । स्याङ्जाका करण पंगेनी शतकिय पारी बनाउन चुके । उनले शानदार ९९ रनको पारी खेले । उनलाई शतकीय पारीमा प्रदिप यादबको बलिङ स्पेल रह्यो । उनलाई मनिष गैरेले क्याच गर्दै पेविलियन फर्काए । करणले १२७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । सन्देश पन्थीले ६४ बलमा ५९ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
तनहुँका लागि रमेश शाह र मनिष गैरेले समान ३–३ विकेट लिए । समीर कँडेलले ३ विकेट लिए भने प्रदीप यादवले १ विकेट हात पारे ।उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ५ विकेट लिएका स्याङ्जाका किरण भट्टराई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
