जिएम कप राष्ट्रिय भलिबलमा गण्डकीबाट दुई युवा खेलाडीको डेब्यु

पोखरा स्पोर्ट्स । नवलपुरको कावासोतीमा आज (बिहीबार)बाट सुरु हुने जिएम कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशको सिनियर टिमबाट पहिलो पटक दुई युवा खेलाडीले अवसर पाउने भएका छन् ।

गण्डकी टिमका सदस्य हिमाल सुनारीले पोखरा स्पोर्ट्ससँग कुरा गर्दै सुप्रिम भुजेल र सन्दिप सुनारलाई पहिलो पटक सिनियर टिममा समावेश गरिएको जानकारी दिए ।

सञ्जुविक्रम शाहको कप्तानीमा प्रतियोगितामा सहभागी हुने गण्डकी टिममा यी दुई युवा खेलाडीले मैदानमा उत्रिनेछन् । सुप्रिम र सन्दिप दुवै अन्तर्राष्ट्रिय एभिसी भलिबल रेफ्री टहल सिंह थापा मगरको प्रशिक्षणमा प्रशिक्षणरत खेलाडीहरू हुन् । उनीहरूले हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण सिनियर टिममा स्थान पाएका हुन् ।

त्यस्तै गरी गण्डकीको टिममा हिमाल सुनारी मगर, विबश आले मगर, राजन दर्लामी मगर, कुन्जन परियार, इन्द्र विक, विश्वास अधिकारी, कुन्जन शाही ठकुरी, सन्तोष विक र जिवन सुनार रहेका छन् ।

चैत्र ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीसहित विभागिय टिम नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लब, कोशी, बागमती, मधेश प्रदेश, लुम्बिनी, र कर्णाली प्रदेश गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा बिजेता टिमले नगद रु ३ लाख, उपविजेताले २ लाख, तृतियले १ लाख र चौथो हुने टिमले सान्तवना स्वरुप ५० हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जि.एम सोसाइटी (समाज) र नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close