
पोखरा स्पोर्ट्स । पोखरामा पाँच वर्षपछि पुनः ‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिड–१९ महामारी तथा विभिन्न प्रशासनिक र प्राविधिक कारणले विगत पाँच वर्षदेखि स्थगित रहेको प्रतियोगिताको २१औँ संस्करण आगामी चैत ५ देखि ७ गतेसम्म पोखरामा हुने नेपाल हवाई खेलकुद संस्था (ना)ले जनाएको हो ।
प्रतियोगितामा नेपालसहित हालसम्म ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटले अनलाइनमार्फत नाम दर्ता गराइसकेको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले जानकारी दिएका छन् । प्रतियोगितामा हाल सम्म भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरूले पनि सहभागिताका लागि दर्ता गराएको र एक मात्र इभेन्ट एक्युरेसीमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहने र खपौदीमा ल्याण्डिङ गर्ने गरी तयारी तथा समन्वय गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले जानकारी दिंदै सम्बन्धित निकायबाट अनुमति नपाएमा तोरपानीबाट टेकअफ गरी हर्पन वा भकुण्डे क्षेत्रमा ल्याण्डिङ गर्ने वैकल्पिक योजना पनि बनाइएको उनको भनाई छ ।
प्रतियोगितामा एक्युरेसीतर्फ व्यक्तिगत तथा टिम दुवै इभेन्टमा प्रतिस्पर्धा हुनेछ । दुवै इभेन्टका विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सोलो प्याराग्लाइडिङ अनुमति रोकिएपछि तथा कोभिड–१९ महामारीका कारण केही वर्षदेखि स्थगित रहेको यो प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो । प्रतियोगिताको प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् । साथै प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद्, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) र नेपाल प्याराग्लाइडिङ पाइलट क्लब लगायतका संस्थाहरूले सहयोग गरेका छन् ।
पोखरामा हाल व्यावसायिक रूपमा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । यहाँ करिब ३६६ टेण्डम पाइलट र करिब १४० सोलो प्याराग्लाइडिङ पाइलट रहेको बताइन्छ । प्रतियोगिताले पोखराको सहाशिक खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्मरणिय के छ भने नेपाल १९औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ तर्फ रजत पदक विजेता समेत हो । पोखरामा सोलो तर्फको प्याराग्लाइडिङमा दुर्घटनाका कारण देखाउँदै नागरिक उड्ययन प्राधिकरणले रोक लगाए पछि प्रतियोगिताहरु समेत प्रभावित बनेका थिए ।
