
पोखरा स्पोर्ट्स । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ ।
उक्त खेल बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने तालिकामा उल्लेख गरिएको छ । यही रंगशालामा गत वर्ष जुन ४ मा रोयल च्यालेन्जर्स बैंग्लोरको विजय उत्सवका क्रममा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो ।
सार्वजनिक तालिकाअनुसार पहिलो चरणमा १६ दिनभित्र २० खेल खेलाइनेछ । तीमध्ये ४ दिन दुई-दुई खेल हुनेछन् । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले मार्च २९ मा कोलकाता नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल मुम्बईस्थित वानखेडे रंगशालामा खेल्नेछ ।
साविक विजेता भएकाले परम्पराअनुसार प्रतियोगिताको उद्घाटन खेल, दोस्रो क्वालिफायर र फाइनल खेल पनि रोयल च्यालेन्जर्स बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामै हुने व्यवस्था गरिएको छ । बैंगलुरुले गत सिजनको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
यस वर्ष देशका पाँच राज्यमा निर्वाचन हुने भएकाले प्रतियोगिताको सुरुआती खेल दुई दिन पछि सारिएको हो। यसअघि प्रतियोगिता मार्च २६ बाट सुरु गर्ने योजना थियो ।
निर्वाचन हुने राज्यहरूमा पर्ने केही मुख्य रंगशालामा पनि खेल हुने भएकाले तालिका दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तमिलनाडुको चेन्नईस्थित एमए चिदम्बरम रंगशाला चेन्नई सुपर किंग्सको घरेलु मैदान हो भने पश्चिम बंगालको कोलकातास्थित इडेन गार्डेन्स कोलकाता नाइट राइडर्सको घरेलु मैदान हो । असमको गुवाहाटीस्थित बारसापारा क्रिकेट रंगशाला भने राजस्थान रोयल्सको दोस्रो घरेलु मैदानका रूपमा प्रयोग हुँदै आएको छ ।
प्रतियोगिताको दोस्रो चरणको तालिका भने निर्वाचन मितिको घोषणा भएपछि मात्र सार्वजनिक गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।
