
पोखरा स्पोर्ट्स । श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कर्स्टनलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । बोर्डको निर्णयअनुसार कर्स्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
उनी दुई वर्षको सम्झौतामा नियुक्त भएका हुन् । हालै सम्पन्न टी-२० विश्वकप २०२६ मा श्रीलंका सुपर- ८ चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सनथ जयसूर्याले पदबाट राजीनामा दिएका थिए। अब कर्स्टनले उनको स्थान लिनेछन् ।
कर्स्टनको कार्यकालमा श्रीलंकाका लागि सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप हुनेछ, जुन दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ। श्रीलंका त्यस प्रतियोगितामा सिधै छनोट हुने लक्ष्यका साथ तयारी गर्ने बताइएको छ ।
यसअघि टी-२० विश्वकपका क्रममा कर्स्टन नामिबिया टोलीका परामर्श प्रशिक्षकका रूपमा पनि आबद्ध थिए ।
खेलाडीका रूपमा उनले दक्षिण अफ्रिकाका लागि १०१ टेस्ट र १८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा पनि उनको उपलब्धि उल्लेखनीय छ । उनको प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि भारतीय टोली टेस्ट क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा नम्बर एक स्थानमा पुगेको थियो । त्यसपछि उनले केही समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।
कर्स्टन सन् २०२४ अप्रिलमा पाकिस्तान टोलीका सीमित ओभरका प्रशिक्षक पनि बनेका थिए । तर बोर्ड र खेलाडीहरूसँग मतभेद भएपछि उनले बीचमै पद छाडेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट बाहेक उनको अनुभव भारतीय प्रिमियर लिगमा पनि रहेको छ । उनले रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्ससँग काम गरेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो सिजनमै उपाधि जित्दा कर्स्टन टोलीका ब्याटिङ प्रशिक्षक थिए ।