
पोखरा स्पोर्ट्स । टी- २० विश्वकप २०२६ को उपाधि जितेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले भारतीय टोलीका लागि १३१ करोड भारु अर्थात् २०९.६ करोड नेपाली रुपैयाँ बराबर पुरस्कार दिने घोषणा गरेको छ । भारतले आइतबार भएको फाइनल खेलमा न्यूजील्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।
बोर्डका अनुसार घोषणा गरिएको पुरस्कार रकम खेलाडीहरूका साथै प्रशिक्षक समूह र टोलीसँग सम्बन्धित सहयोगी कर्मचारीलाई पनि प्रदान गरिनेछ । यस पुरस्कार रकममा १५ जना खेलाडी, प्रशिक्षक समूह र अन्य सहयोगी कर्मचारी समावेश छन् । सबैभन्दा ठूलो हिस्सा खेलाडीहरूले पाउने बताइएको छ भने सहयोगी कर्मचारीलाई दिइने रकम उनीहरूको जिम्मेवारी र पदअनुसार निर्धारण गरिने जनाइएको छ ।
यस पटक घोषणा गरिएको १३१ करोड भारु पुरस्कार रकम सन् २०२४ को टी-२० विश्वकपपछि दिइएको १२५ करोड भारुभन्दा बढी हो । यसअर्थमा यस पटक बोर्डले अघिल्लो पुरस्कारभन्दा ६ करोड बढी दिने निर्णय गरेको हो ।
भारतले आफ्नो उपाधि जोगाउँदै टी- २० विश्वकप इतिहासमा लगातार दुई पटक ट्रफी जित्ने पहिलो टोली बनेको छ । भारत यसअघि २००७, २०२४ र २०२६ मा टी- २० विश्वकप जित्दै तीन पटक उपाधि जित्ने विश्वकै पहिलो टोली बनेको छ । साथै अहमदाबादमा भएको फाइनल जितसँगै भारतले पहिलो पटक आफ्नै घरेलु मैदानमा पनि टी- २० विश्वकप ट्रफी उचालेको हो ।
यसअघि भारतले २००७ मा दक्षिण अफ्रिका र २०२४ मा वेस्ट इन्डिजमा उपाधि जितेको थियो । अहिले भारतसँग तीन वटा टी -२० विश्वकप ट्रफी छन् भने वेस्ट इन्डिज र इंग्ल्यान्डले दुई-दुई पटक मात्र यो उपाधि जितेका छन् ।
