एन्फाको फुटबल खेलाडी संघको तालाबन्दीप्रति आपत्ति, गतिविधि प्रभावित हुने चेतावनी

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल फुटबल खेलाडी संघद्वारा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै पूर्व जानकारी र संवाद बिना सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीलाई अनुचित कार्य भएको उल्लेख गरेको हो ।

एन्फाले आफ्ना मातहतका संस्थासँग वार्ताको ढोका खुला राख्दै आएको भए पनि यस्तो निषेधात्मक गतिविधिले फुटबल गतिविधिमा नकारात्मक असर पर्ने जनाएको छ । विज्ञप्तिमा खेलाडी संघले उठाएका तीनवटा मुख्य मागबारे एन्फाले आफ्नो धारणा पनि सार्वजनिक गरेको छ ।

जस मध्ये ए डिभिजन लिग सञ्चालन सम्बन्धमा एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग तथा राष्ट्रिय लिग सञ्चालनका लागि क्लब र खेलाडी संघसँग निरन्तर समन्वय भइरहेको जनाउँदै राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी रहेको एन्फाले बताएको छ। तर तालाबन्दीका कारण प्रशासनिक गतिविधि अवरुद्ध भएकाले तत्काल कार्यान्वयनमा समस्या देखिएको एन्फाको भनाई छ।

त्यसै गरी, खेलाडी कल्याण कोष सम्बन्धमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बिक्रीबाट उठेको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा एन्फा प्रतिबद्ध रहेको बताउँदै खेलाडीको पुरस्कार तथा तलव–भत्ता सम्बन्धमा वर्तमान कार्यसमितिले घोषणा गरिएका पुरस्कार पूर्ण रूपमा भुक्तानी गर्ने निर्णय गरिसकेको जनाएको छ ।

अघिल्ला कार्यसमितिले निर्णय गरी बाँकी रहेका पुरस्कार रकमसमेत अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त रकमका आधारमा क्रमिक रूपमा भुक्तानी गरिने उल्लेख गर्दै एन्फाले जारी तालाबन्दीका कारण राष्ट्रिय लिग, महिला लिग, उमेरसमूहका प्रतियोगिता तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको तयारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

एन्फाले खेलाडी संघलाई तालाबन्दी तत्काल खोल्न आग्रह गर्दै अन्यथा नेपाली फुटबल गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जनाउँदै एन्फाले आफू सार्वजनिक संस्था भएकाले कार्यालयको भौतिक संरचनाको सुरक्षा र नियमित गतिविधि सञ्चालनका लागि नेपाल सरकार तथा सुरक्षा निकायसँग सहयोगको अपिलसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close