
पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकप अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दैछन् । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ ।
भारत र इङल्याण्ड आईसीसी प्रतियोगिताको सेमिफाइनलमा पाँचौं पटक आमनेसामने हुदैछन् । अहिलेसम्म खेलिएका चार खेलमा दुवै टोली २-२ को बराबरीमा विजयी भएका छन् । रोचक कुरा के छ भने, जब भारतले सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई हराएको छ, भारतले पनि उपाधि जितेको छ ।
पहिलो भारत-इङ्ग्ल्याण्ड सेमिफाइनल १९८३ को एकदिवसीय विश्वकपमा भएको थियो । भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो र त्यसपछि फाइनलमा वेस्ट इन्डिजलाई पराजित गर्दै उपाधि जितेको थियो । यी दुई टोली अन्तिम पटक २०२४ को टी-२० विश्वकपमा सेमिफाइनलमा खेलेका थिए । सो खेलमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो र त्यसपछि फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको थियो । भारत-इङ्ग्ल्याण्ड सेमिफाइनल १९८७ को एकदिवसीय विश्वकप र २०२२ को टी-२० विश्वकपमा पनि भएको थियो, जसमा इङ्ग्ल्याण्डले दुवै पटक जितेको थियो ।
त्यस्तै भारत र इङ्ल्यान्ड टी-२० विश्वकपमा लगातार तेस्रो पटक आमनेसामने हुँदैछन् । इङ्ल्यान्डले २०२२ मा जितेको थियो भने भारतले २०२४ मा जित हासिल गरेको थियो ।
यस खेलको लागि दुवै टोलीका लागि सम्भावित प्लेइङ ११
भारत: संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रीत बुमराह ।
इङ्ल्यान्ड: फिल साल्ट, जोस बटलर (विकेटकिपर), ह्यारी ब्रुक (कप्तान), ज्याकब बेथेल, टम बेन्टन, साम कुरान, विल ज्याक्स, लियाम डसन, रेहान अहमद, जोफ्रा आर्चर र आदिल रशिद ।
