
पोखरा स्पोर्ट्स । पोखरामा बिहिबार सम्पन्न ‘चौथो मञ्जु बहादुर बस्नेत अन्तर विद्यालयस्तरीय छात्र ह्याण्डबलमा पोखरा एकेडेमी च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा स्वर्गिय बस्नेतको परिवारको सहकार्यमा आयोजित प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुललाई २०–१८ गोल अन्तरले पराजित गर्दै पोखरा एकेडेमी च्याम्पियन भएको हो ।
च्याम्पियन भए सँगै पोखरा एकेडेमीले नगद रु २० हजार र उपविजेता बनेको गण्डकी बोर्डिङले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा प्रगती मावि र जुनियर सिटिजन्स एकेडेमी भएका छन् । उनीहरुले समेत ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । यस्तै बर्दियाबाट सहभागि टिम अनुशासित टिम बन्न सफल रह्यो । सो टिमलाई नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका विशाल बस्नेतले सान्त्वना स्वरुप नगद रु ५ हजार प्रदान गरे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पोखरा एकेडेमीका दिब्य गुरूङ, उत्कृष्ट गोलकिपर पोखरा एकेडेमीका सितल गुरूङ र सर्वाधिक गोलकर्ता गण्डकी बोर्डिङका अल्बिन गुरूङ बन्न सफल रहे ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई गुरूकुल विद्याश्रमका अध्यक्ष रबि कार्की, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, तमु धिं युकेका अध्यक्ष कमल बहादुर कोने गुरूङ, सहारा युकेका अध्यक्ष सारदा गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, अग्रज पत्रकार राज बहादुर गुरूङ, गण्डकी प्रदेश ह्याण्डबलका सदस्य उमेश राजभण्डारीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको थियो । दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ९ विद्यालयको सहभागिता रहेको थियो ।
