
पोखरा स्पोर्ट्स । सहारा यूकेले माछापुच्छ्रे गाउँपालिका–सिदिङस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि रु. ३,००,००० (तीन लाख) राशिको अक्षयकोष स्थापना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका सभापति बुद्धि तामाङको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा सहारा यूकेका अध्यक्ष सारदा गुरुङले प्रधानाध्यापक शान्ति तामाङ र सभापति बुद्धि तामाङलाई अक्षयकोषको चेक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा माछापुच्छ्रे वडा नं ९ का सदस्य रामहरी गुरूङ, विद्यालयकी प्रधानाध्यापक शान्ति तामाङ, शिक्षक शालिग्राम गौतम, शिक्षक दिन्दु तिम्सिनाले लगायतले सहारा युकेको टोलीलाई विद्यालयमा स्वागत गर्दै अक्षयकोष स्थापना गर्न सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त विद्यालयको पुनर्निर्माणका लागि सहारा यूकेको पहलमा सन २०१८ मा बोनइन क्रोकम रोटरी क्लब, यूकेले भवन मर्मत, फर्निचर लगायतका सामग्री सहयोग गरेको थियो । हाल विद्यालयमा करिब १२२ जना विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष सारदा गुरुङसहित पूर्व अध्यक्षहरू मीनबहादुर गुरुङ र रि.ले कुसाङ गुरुङ, संस्थापक सल्लाहकार महेश गुरुङ, मेजर ललित गुरुङ, पूर्व हङकङ शिक्षीक ज्योति गुरुङ, पूर्व डीएसपी बाचस्पति रेग्मी, सूबेदार मेजर तेजबहादुर गुरुङ तथा सहारा यूकेका सदस्यहरू, वडा नं. ९ का वडा सदस्य रामहरि गुरुङ र अनु गुरुङको सभागिता रहेको थियो ।
सो अवसरमा सहारा युकेका अध्यक्ष शारदा गुरूङले संस्थाले भुकम्प क्षतीग्रस्त विद्यालयको अवस्था बुझ्न यती बेला सिन्धुपाल्चोकलगायतको विद्यालयहरुमा अवलोकन भ्रमण गरेको बताउँदै विद्यार्थीहरुको शिक्षक उन्नयनका लागि यो अक्षयकोषको अवधारणा अघि सारेको बताए ।
सोही क्रममा टोलीले इमुस्थित मनिलाल प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुका साथै गौरीशंकर मनिलाल मावीमा समेत् भ्रमण गरेको जानकारी पूर्व अध्यक्ष मिन बहादुर गुरूङले पोखरा स्पोर्टस्लाई जानकारी दिए । सो विद्यालयमा पुग्दा विद्यालयका प्रधानाध्यपक रक्ष रक्ष क्षेत्रीले सहारा युकेको टोलीलाई स्वागत गरेका थिए ।
यसैक्रममा सहारा यूके टोलीले पोखरा–हेमजा मिलनचोक, मनीलाल मार्ग हुँदै, पोखरा क्यानोनिङ, घलेल सिदिङ स्कूल, इमू, स्याङ्जाघट्ट, गौरीशंकर मनीलाल माध्यमिक विद्यालय पुगी लगायतका क्षेत्रको अवलोकन गर्नुका साथै पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता पनि अवलोकन गरेको थियो ।
सहारा यूकेले शिक्षा, स्वास्थ्य, खेलकुद तथा विभिन्न सामाजिक क्षेत्रमा निरन्तर मानवीय सेवा गर्दै आएको छ । सहारा युकेले हालै सिन्धुपाल्चोकस्थित हैवुङ महादेवस्थान माविलाई समेत अक्षयकोषका लागि रु ३ लाख हस्तान्तरण गरेको थियो ।
