प्रधानमन्त्रीसँग राखेपको छलफल, दशौं राष्ट्रिय खेलकुदबारे अस्पष्टता कायमै

पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरूले प्रधानमन्त्री एवं राखेपकी संरक्षक सुशीला कार्कीसँग भेट गरी मिसन–२०२६ लाई निरन्तरता दिन आग्रह गरेका छन् ।

भेटमा प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने आश्वासन दिएकी भए पनि आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे के छलफल भयो भन्ने विषयमा राखेपले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

राखेपद्वारा प्रकाशित समाचार अनुसार प्रधानमन्त्रीसँगको छलफल मिसन–२०२६ र जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदको तयारीमा सीमित रहेको छ । राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता मानिने दशौं राष्ट्रिय खेलकुदबारे मौनता रहनुले यसको तयारी र समयरेखाप्रति अन्योल कायमै रहेको देखिएको छ ।

राखेपले २०औं एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राख्दै विगत दुई वर्षदेखि १० खेलका ११ राष्ट्रिय टोलीलाई विशेष प्रशिक्षण दिँदै आएको जनाएको छ । तर चालु आर्थिक वर्षमा विनियोजित बजेट माघ महिनासम्म मात्र पर्याप्त भएपछि बाँकी कार्यक्रम सञ्चालनका लागि थप बजेट व्यवस्थापनको माग प्रधानमन्त्रीसमक्ष राखिएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा सदस्य–सचिव रामचरित्र मेहताले एसियाली खेलकुदको तयारी र राष्ट्रिय टोलीको प्रशिक्षण अवस्थाबारे जानकारी गराएका थिए । उक्त भेटमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठ पनि सहभागी थिए ।

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनपछि विशेष प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिएको राखेपले जनाएको छ । तर, दशौं राष्ट्रिय खेलकुदबारे कुनै ठोस निर्णय वा स्पष्ट कार्ययोजना सार्वजनिक नगर्नुले सरोकारवालाबीच प्रश्नहरू थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close