
पोखरा, नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको यहि माघ २५ गते आयोजना हुने क्रसकन्ट्री दौड प्रतियोगिताका लागि यूकेमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त क्रस कन्ट्रिका परिकल्पनाकार एवम गैर आवाशिय नेपाली संघ (एनआरएन) यूकेका बेलायत राज्य समितीका उपाध्यक्ष समेत रहेका लाल बहादुर (एलविजेड्) गुरुङको पहलमा उक्त च्यारिटी कार्यक्रम सम्पन्न भएको हो ।
उक्त च्यारिटी कार्यक्रम बारे जानकारी दिंदै उपाध्यक्ष गुरुङले नेपालको भ्रमण वर्षलाई सफल बनाउन कोल्मा बहाकोटको क्रसकन्ट्री दौडले सार्थकता पाउने विश्वास व्यक्त गरे । “हामीले छोटो अवधीमा यो कार्यक्रम गरेका थियौं तर निकै हौसला र अर्थपूर्ण रह्यो” उनले भने–“क्रसकन्ट्री कोल्मामा आयोजनाहुने भएपनि त्यहाँको भौगोलिक र ऐतिहासिक परिवेशले यसले थप सफलता पाउनेमा ढुक्क छु ।”
कार्यक्रममा एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ, यूके स्थित विभिन्न संघ संस्थका अध्यक्ष तथा पदाधिकारी र अन्य विशिष्ट महानुभावहरुको उपस्थिती रहेको गुरुङले जानकारी दिए ।
वर्ष २०२० लाई लक्षित गरी स्याङजा पुतली बजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित तनहु र विरुवा गाउपालिकालाई समेत समेटेर सो क्षेत्रमा रहेका सांस्कृतीक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले कोल्मा बहकोट सम्पर्क मञ्चले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरेको हो ।
आर्थिक बिकास गर्न सके गाउ बस्ती रित्तिनबाट जोगाउन सकिन्छ भन्ने अभिलाषा सहित “संस्कृती संरक्षणको लागी एकजुट, पर्यटन प्रवद्र्धनका लागी खेलकुद” भन्ने अभिप्रायका साथ क्रस कन्ट्री दौड संगै स्थानिय संस्कृतीको प्रदर्शन, होम स्टेको प्रवर्धन र सांगितिक प्रस्तुतीहरु समेत उक्त कार्यक्रममा समेटिने छन ।
३१ किलो मिटर खुल्ला पुरुष र १४ किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुगेर दौड सम्पन्न हुनेछ ।
प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ५० हजार, मेडल र प्रमाण पत्र, द्वितिय हुनेले नगद ४० हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १४ किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १५ हजार र १० हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिनेछ ।
विदेशमा रहेर पनि आफ्नो गाउँको बिकासका लागि केही गर्नुपर्छ भन्ने कुरा यति बेला गैर आवाशिय नेपालीहरु माझ विस्तारै मौलाउँदै आएकोे छ । हजारौ यूवाहरु रोजीरोटीका लागि नेपालका विभिन्न शहर र विदेश पलायन हुँदा गाउँहरु रित्तिन थालेका छन । यस्ता कार्यक्रमहरुले ति यूवाहरुलाई गाउँ फर्काउन र गाउँको बिकासमा योगदान गर्नुपर्छ भन्ने आवाज पनि बेला–बेलामा उठ्ने गरेको छ ।
