एडभेन्चर रनिङ फेडेरेशन द्वारा खेलाडी सम्मान

पोखरा स्पोर्ट्स । नेपाल एडभेन्चर रनिङ फेडेरेशनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा तथा ट्रेल रेसमा पदक जित्न सफल खेलाडीहरूलाई सम्मान गरेको छ ।

फेडेरेशनको वार्षिक साधारण सभाको अवसर पारेर सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीहरूमा अर्जुन कुलुङ राई, सुनसरी रोकाया, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा रहेका छन् ।

त्यसै अवसरमा विश्व प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल तथा प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय पूर्व ओलम्पियन धावक हरिबहादुर रोकायालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

संस्थागततर्फ हिमालयन एक्सट्राइ नेपाल र हिमालयन रनिङ क्लब, ललितपुरलाई पनि सम्मान गरिएको छ ।

सम्मान कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल एडभेन्चर रनिङ फेडेरेशनका अध्यक्ष एकेन्द्र कुँवरले संयुक्त रूपमा प्रदान गरेका थिए ।

फेडेरेशनको साधारण सभाले वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले विभिन्न घरेलु प्रतियोगिता आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने निर्णयसमेत गरेको छ ।

साथै, आगामी वर्षका लागि १ करोड १० लाख रुपैयाँको बजेट पारित गरिएको अध्यक्ष कुँवरले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close