प्रतिभा माविको क्रिकेटमा दबदबा : मदरल्याण्डलाई ५८ रनले हराउँदै ‘प्रतिभा सुपर लिग’को च्याम्पियन

पोखरा स्पोर्ट्स । पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टोली प्रतिभा मावि पोखरा–३ नदीपुर ले जितेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा प्रतिभा माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै च्याम्पियनको ताज पहिरिएको हो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रतिभा माविले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । प्रतिभाका लागि सफल श्रेष्ठले ४९ बलमा ७२ रनको शानदार अर्धशतकीय पारी खेले भने मिसन विकले २१ बलमा १८ रनको योगदान दिए ।

मदरल्याण्डका बलरमध्ये भुवनबहादुर भण्डारीले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिँदै प्रभावशाली बलिङ गरे । त्यस्तै विलोभ मल्ल, सद्रीस पौडेल, रमेश भट्ट र शुभम गिरीले समान १–१ विकेट हात पारे ।

१३८ रनको लक्ष्य पछ्याएको मदरल्याण्ड सेकेण्डरी स्कुलको ब्याटिङ कमजोर रहँदा टोली १३.४ ओभरमै ७९ रनमा अलआउट भयो । मदरल्याण्डका लागि रोमिस भट्टले ११ बलमा १३ रन बनाउनु बाहेक अन्य खेलाडी टिक्न सकेनन् र टोली उपविजेतामा सीमित बन्यो ।

मदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा प्रतिभाका सफल थापाले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए भने सफल श्रेष्ठले ३.४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे । उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका सफल श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।

च्याम्पियन बनेको प्रतिभा माविले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता मदरल्याण्डले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा सफल श्रेष्ठ (प्रतिभा मावि) प्लेयर अफ द टुर्नामेन्ट, सहबुद्दिन अन्सारी (प्रतिभा मावि) उत्कृष्ट ब्याट्सम्यान र सुमन अधिकारी (बाल मन्दिर मावि) उत्कृष्ट बलर घोषित भए । उनीहरूलाई ट्रफी प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेट विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, आयोजक समितिका अध्यक्ष पौडेलले खेलाडी उत्पादन र क्रिकेट विकासमा प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए ।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आगामी वर्षदेखि छात्र तथा छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दै भने,“यसपटक छात्रतर्फबाट सुरु गरेका छौं, अब छोराछोरी सबैले खेल्न पाउने गरी दुवै विधामा प्रतियोगिता हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close