
पोखरा स्पोर्ट्स । आइसीसी टी-२० विश्वकप २०२६ सुरु हुनुभन्दा एक दिन अगाडि अस्ट्रेलियालाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर जोश हेजलवुड चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन् ।
यसअघि नियमित कप्तान तथा स्टार तेज बलर प्याट कमिन्सले पनि ढाडको चोटका कारण विश्वकपबाट नाम फिर्ता लिएका थिए । यसको अर्थ अस्ट्रेलियाले पहिलो पटक आफ्नो प्रसिद्ध ‘बिग थ्री’ पेस आक्रमण बिना नै आइसीसी प्रतियोगिता खेल्नेछ । मिचेल स्टार्कले पहिले नै टी-२० अन्तर्राष्ट्रिय खेलहरूबाट सन्यास लिइसकेका छन् ।
अस्ट्रेलियाली छनोटकर्ता टोनी डोडेमेडले शुक्रबार, हेजलवुड सुपर ८ चरणसम्म फिट हुने आशा गरेकोमा अब मेडिकल रिपोर्टले सबै आशाहरू चकनाचुर पारेको बताए ।
अस्ट्रेलियाली छनोट समितिले तत्काल कुनै पनि नयाँ खेलाडी टोलीमा समावेश नगर्ने स्पष्ट गरेको छ । टोली व्यवस्थापनले प्रारम्भिक खेलहरूको लागि हालको टोली पर्याप्त रहेको भन्दै आवश्यक परेमा पछि निर्णय गर्ने बताएको छ ।
हेजलवुड र कमिन्स बाहिरिएपछि, मिचेल स्टार्कले पहिले नै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका कारण कमिन्स, स्टार्क र हेजलवुड बिना अष्ट्रेलियाले विश्वकप खेल्ने लामो समयपछि पहिलो पटक हुनेछ । यो परिवर्तनले टोलीको बलिङ रणनीतिमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।
अब तिब्र गतिको बलिङ आक्रमणको जिम्मेवारी नाथन एलिस, बेन द्वारशुइस, जेभियर बार्टलेट र अलराउन्डरहरूमा पर्नेछ । एडम जाम्पाले स्पिन विभागको नेतृत्व गर्नेछन् ।
अस्ट्रेलियाको टी-२० विश्वकप २०२६ टोलीमा मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, बेन द्वारशुइस, क्यामरुन ग्रीन, नाथन एलिस, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुह्नेम्यान, ग्लेन म्याक्सवेल, म्याथ्यू रेनशा, मार्कस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।
अस्ट्रेलिया यस विश्वकपमा समुह बी मा आयोजक राष्ट्र श्रीलंका, आइरल्यान्ड, जिम्बाब्वे र ओमानसँग रहेको छ । अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल फेब्रुअरी ११ मा आयरल्याण्डविरुद्ध खेलेरे प्रतियोगिताको शुरुवात गर्दैछ ।
