२५औँ आहा रारा गोल्डकप : पहिलोपटक फ्लडलाइटमा फुटबल, १२ टिम भिड्दै

पोखरा स्पोर्ट्स । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकपले २५औँ संस्करणमा नयाँ इतिहास रच्ने भएको छ । रजत जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको प्रतियोगिता पहिलोपटक अस्थायी फ्लडलाइटमा नाइट म्याचका रूपमा सञ्चालन हुने भएको हो ।

माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १२ टिम सहभागी हुनेछन् । आयोजक सहारा क्लब पोखराका अनुसार यसपटक प्रतियोगितालाई खेलसँगै पोखराको पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्य राखिएको छ ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिगका ७ टिम सहभागी हुनेछन् ।  विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब र प्लानिङ व्वाइज युनाइटेड प्रतिस्पर्धामा उत्रिनेछन् ।

यस्तै, विदेशी सहभागिताले प्रतियोगितालाई थप अन्तर्राष्ट्रिय बनाएको छ । उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडले सहभागिता जनाउने पक्का भएको छ भने भारतकै एक टिमको अन्तिम टुंगो लाग्न बाँकी रहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन् ।

रजत जयन्ती संस्करणलाई विशेष बनाउँदै आयोजकले पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close