
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्दै उपाधि उचाल्यो । यो जित सँगै गण्डकीले पाँचौ सस्करणमा आफू उपाविजेता बनेको बदला समेत चुकाएको छ । पाँचौ सस्करणमा पुलिस विजेता र गण्डकी उपविजेता रहेको थियो ।
उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो ।
तेस्रो स्थानका लागि भएको खेलमा पर्वत जिल्ला भलिबल संघले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पर्वतले २५–१९, २९–२७ र २५–१३ को सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गर्यो । तेस्रो बनेसँगै पर्वतले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्यो ।
प्रतियोगितामा गण्डकीका मुस्ताफा खान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे। त्यसैगरी उत्कृष्ट सर्भर-अद्नान खान (गण्डकी), उत्कृष्ट लिबेरो-भीमबहादुर गाहा (नेपाल पुलिस), उत्कृष्ट सेटर-बलराम गुरुङ (गण्डकी), उत्कृष्ट ब्लकर-फकर राजा (गण्डकी), उत्कृष्ट स्पाइकर-फकर वाट्टु (पर्वत) र उत्कृष्ट प्रशिक्षक-रमेश केसी (गण्डकी) विधागत उत्कृष्ट घोषित हुँदै जनही ११ हजार १११ रुपैयाँ पाए ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको थियो । त्यस्तै महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो ।
यसै बीच टाइगर ग्रुप अफ पोखरा नेपालले तीनजनालाई सम्मान गरेको छ । समापनका अवसरका अन्तर्राष्ट्रिय एभिसी रेफ्रि विकास गुरूङ, टाइगर ग्रुपका सदस्य खुम थापा र खेल पत्रकार केशव पाठकलाई सम्मान गरेको हो । उनीहरुलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले सम्मान गरेका थिए ।
