टाइगर कप भलिबल : आर्मीको रोमाञ्चक जित, पुलिसको फाइनल आशा कायमै, थाइल्याण्ड क्विन्स तेस्रो

पोखरा स्पोर्ट्स ।  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार सम्पन्न पुरुषतर्फको तेस्रो तथा अन्तिम खेलमा आर्मीले एपीएफलाई ३–२ सेटले पराजित गरेको हो ।

आर्मीले पहिलो सेट २५–१९ ले जिते पनि दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफको पक्षमा गयो । चौथो सेटमा २५–१७ को पुनरागमन जित निकाल्दै आर्मीले खेल पाँचौं सेटमा धकेल्यो । निर्णायक पाँचौं सेटमा १८–१६ को संघर्षपूर्ण जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पार्‍यो । दुवै टोलीको समान ७ अंक भए पनि सेटका आधारमा अघि रहँदै आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।

यसअघि भएको पुरुषतर्फकै खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले जित्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । पाँच खेलबाट पुलिसले १० अंक जोडेको छ ।

समान चार खेल खेलेका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९–९ अंक छ । यी दुई टोली शुक्रबार एकआपसमा भिड्नेछन् । उक्त खेलमा कुनै एक टोलीले सिधै ३ अंकसहित जित निकालेको खण्डमा सो टोली र नेपाल पुलिस क्लब फाइनलमा पुग्नेछन् । खेल पाँचौं सेटसम्म पुगेमा भने सेटका आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

यस्तै, महिलातर्फ थाइल्याण्ड क्विन्सले तेस्रो स्थान हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको तेस्रो स्थानका लागि प्रतिस्पर्धामा थाइल्याण्डले एपीएफलाई ३–२ सेटले पराजित गर्‍यो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले जित निकाल्यो । चौथो सेट २३–२५ ले गुमेपछि खेल पाँचौं सेटमा पुगेको थियो । निर्णायक सेटमा १५–११ को जित निकाल्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच शुक्रबार फाइनल खेल हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ । त्यसपछि दिउँसो १ बजे पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close