
पोखरा स्पोर्ट्स । यहि माघ १७ देखि २४ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहिबार एक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
यो प्रतियोगिता पोखरामा आयोजना हुन लागेको सन् २०१९ मा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । १३औं सागमा पहिलो पटक महिला फुटबल पोखरा रंगशालामा आयोजना भएको थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा)को आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोलीको सहभागिता रहनेछ । प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ । लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेल माघ १७ गते बंगलादेश र भुटानबीच दिउँसो १२ बजे हुनेछ भने सोही दिन आयोजक नेपालले भारतसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ । लिग चरणका खेलहरू माघ १९ र माघ २१ मा सञ्चालन हुनेछन्, जहाँ प्रत्येक दिन दुई–दुई खेल हुनेछन् ।
प्रतियोगिताका सबै खेलहरू पोखरा रंगशालामै आयोजना हुनेछन् । यसले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास गरिएको साफका महासचिब पुरुषोत्तम कट्टेलले जनाएका छन् ।
घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको नेपाली यू–१९ महिला टोलीको समर्थनका लागि पोखराका साथै देशभरका फुटबलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समतिका अध्यक्ष मिलन गुरूङले बताए ।
सो अवसरमा एन्फाका सिइओ इन्द्रमान तुलाधरले पोखरालाई अन्तर्राष्ट्रिय फुटबलको हव बनाउने गरी एन्फा अघि बढेको जनाएका छन् ।
प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ २ सय र भिआइपीतर्फ रु ५ सयको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने समेत आयोजकको भनाई छ ।
तस्विरः सुदर्शन रञ्जित
