नेपाल भलिबल संघको साधारण सभा सम्पन्न : “तदर्थ ओलम्पिकलाई चिन्दिन, एन्फालाई पनि छोड्दिन” – राखेप सदस्य–सचिव मेहता

पोखरा स्पोर्ट्स । नेपाल भलिबल संघको १२औँ साधारण सभा बिहीबार पोखरामा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले राजनीतिक स्वार्थबाट निर्देशित संघ–संस्थालाई कडाइका साथ निरुत्साहित गरिने स्पष्ट सन्देश दिएका छन् ।

मेहताले खेलकुदलाई समाज र राष्ट्रिय अर्थतन्त्रको मूलधारमा जोड्ने लक्ष्यसहित आफूले कार्यसम्पादनको थालनी गरेको उल्लेख गरे । नेपालको ओलम्पिक विवाद समाधानका लागि आफू सक्रिय रहेको जनाउँदै उनले स्वार्थप्रेरित रूपमा गठन गरिएको ओलम्पिकको तदर्थ समितिलाई राखेपले नचिन्ने स्पष्ट पारे ।

यसै बीच १२औं साधारण सभामा नेपाल भलिबल संघका निवर्तमान अध्यक्ष मनोरन्जनरमण शर्मा र काभाका अध्यक्ष मोहमद लातिफलाई उनीहरुले नेपाली खेलकुदमा पुर्याएको विशेष योगदानका लागि सम्मान गरेको छ । सम्मानित दुबैजनालाई राखेपका सदस्य सचिब मेहता, नेपाल भलिबल संघका अध्यक्ष चन्दलगायतले दोसल्ला, सम्मानपत्रले सम्मान गरेका थिए ।

नेपालको ओलम्पिक विवादका कारण नेपाली खेलकुदको शाख खस्किन आफूले नदिने बताउँदै कुन स्वार्थका कारण कसले किन ओलम्पिकको तदर्थ समिति गठन भयो र किन गरियो भन्ने प्रश्न गर्दै .उनले भने, “हाल जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटीले सही ढङ्गले काम गरेको छ भनेर म ठोकुवा गर्दिन । तर पनि नेपाली खेलकुदको समग्र हित र खेलाडीहरूको सहभागिता सुनिश्चित गर्न आसन्न एसियाली खेलकुदका लागि राखेपले सोही ओलम्पिक कमिटीमार्फत नाम पठाएको हो ।” उनले सो कमिटिमार्फत नाम पठाउँदा समेत आफूलाई अदालतमा लैजाने भन्दै केहीले तर्साउन खोजे पनि आफू त्यसका लागि तयार रहेको जवाफ दिएको उल्लेख गर्दै भने–“हुन्छ तपाईहरु अदालत जानुस म जिवनरामजीलाई परिषदमा बोलाएर माला लगाइदिन्छु । यती भने पछि उहाँहरु यति बेला चुप लाग्नु भएको छ ।”

मेहताले ओलम्पिक विवाद हाल अदालतको निर्णयको पर्खाइमा रहेको जनाउँदै चाँडै समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

नेपाल ओलम्पिक कमिटीसँगै विभिन्न खेल संघहरूमा देखिएका समस्याहरू समाधान गर्न आफू निरन्तर लागेको उल्लेख गर्दै उनले खेलकुद ऐन तथा नियमावलीअनुसार काम गर्न सबै संघहरूलाई निर्देशन दिइएको जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन पनि राखेपको निर्देशनअनुसार गर्न आग्रह गरिएको बताउँदै उनले कडा शब्दमा चेतावनी दिए ।

मेहताले भने, “मैले यही कुरा एन्फा नेतृत्वलाई पनि भनेको हुँ । तर उहाँहरूले मान्नु भएन । पछि उहाँहरू आफैंले निर्वाचन स्थगित गर्नुभयो । खेलकुद ऐन विपरीत जाने कुनै पनि संघ, चाहे त्यो एन्फा नै किन नहोस्, म कसैलाई छोड्दिन ।”

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता केही कमजोरीका कारण पुनः स्थगित हुनेतर्फ अघि बढेको र यसबारे अझै के गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न नसकिएको सदस्य–सचिव मेहताले बताएका छन् । दशौं खेलकुदका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा कम्तीमा ९० दिन लाग्ने उल्लेख गर्दै पूर्वाधारकै कारण प्रतियोगिता हुन नसकेको भन्ने चर्चा केवल हल्लामात्र भएको उनको भनाइ थियो । बदलिँदो राजनीतिक परिवेशका कारण खेलकुद क्षेत्रमा विनियोजित बजेट निकासा गर्न समस्या देखिएको स्वीकार गर्दै उनले यस विषयमा आफ्नो प्रयास निरन्तर जारी रहेको पनि बताए ।

नेपाली खेलकुदमा भलिबलले उल्लेखनीय उचाइ हासिल गरेको बताउँदै सदस्य–सचिव मेहताले भलिबलको थप विकासका लागि आवश्यक कभर्ड हल निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् सकारात्मक रहेको जनाए । यद्यपि, केही प्राविधिक कारणले उपयुक्त जग्गा खोज्न कठिनाइ भइरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा आफ्ना धारणा राख्दै साउथ एसियन सेन्ट्रल जोन (काभा) का अध्यक्ष मोहमद लातिफले नेपाली भलिबलको विकासले विश्वकै ध्यान आकर्षित गर्न सफल भएको उल्लेख गरे । उनले भलिबलको दिगो विकासका लागि उमेर समूहका प्रतियोगितालाई प्राथमिकता दिनुका साथै जिल्ला र प्रदेशस्तरका नियमित लिग आयोजना गर्नुपर्नेमा जोड दिँदै, यसले खेलाडी उत्पादन प्रणाली बलियो बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी खेलाडी तयार गर्न मद्दत पुग्ने बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अतिरिक्त प्रहरी महानिरिक्षक शिद्धिविक्रम शाह, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, संघका निवर्तमान अध्यक्ष मनोरन्जनरमण शर्मा, नेपाल भलिबल संघका महसाचिब रोशन श्रेष्ठ, नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाख शर्मा, ओलम्पियन दिपक विष्ट, संघका पूर्व सचिब डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।

साधारण सभामा संघका महासचिब श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले चरणवद्ध रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close