
पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत बुधबार तय गरिएको खेल निरन्तर वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि टोलीहरूले अंक बाँडेका छन् ।

वर्षाले खेल प्रभावित भए पनि प्रतियोगिता दुवै समूहमा रोचक मोडमा पुगेको छ । नवीनतम अंक तालिका अनुसार समूह ‘ए’ मा साङ्ग्रिला क्रिकेट क्लब र समूह ‘बी’ मा कास्की क्रिकेट क्लब समान ७–७ अंकसहित शीर्ष स्थानमा रहेका छन् ।
समूह ‘ए’ मा साङ्ग्रिला क्रिकेट क्लबले चार खेलबाट तीन जित र एक खेल नतिजाविहीन रहँदै ७ अंक जोडेको छ । तीन खेल खेलेको राइजिङ क्रिकेट क्लब ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । अरन्यज्योति क्रिकेट क्लबले ४ अंक हासिल गरेको छ भने लेकसाइड क्रिकेट क्लब र एभरेस्ट क्रिकेट क्लब अंक तालिकाको पुछारमा छन् ।
त्यसैगरी समूह ‘बी’ मा कास्की क्रिकेट क्लबले चार खेलमध्ये तीन जित र एक खेल नतिजाविहीन रहँदै ७ अंकका साथ समूहको नेतृत्व गरिरहेको छ । माछापुच्छ्रे क्रिकेट क्लब ५ अंकसहित दोस्रो स्थानमा छ भने पोखरा क्रिकेट क्लबले ४ अंक जोडेको छ । लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लबले भने अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् ।
समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै सेमिफाइनल प्रवेशका लागि टोलीहरूबीच प्रतिस्पर्धा थप चर्किएको छ । प्रतियोगिता आयोजकका अनुसार मौसम अनुकूल रहेमा प्रतियोगिताको फाइनल खेल शनिबार हुने तय भएको छ ।
कास्की जिल्लामा क्लबस्तरीय क्रिकेटको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडी उत्पादनमा भूमिका खेलेको कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्ट्सलाई बताए ।
