
पोखरा स्पोर्ट्स । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फको फाइनल समिकरण पुरा भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको बुधबारको खेलमा सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा जित हासिल गरे सँगै नेपाल पुलिसले न्यू डायमण्डसँग फाइनलमा भेट पक्का गरेको हो ।
पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।
त्यस्तै आज नै भएको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको छ । न्यू डायमण्डको अपराजित यात्रामा कुल १२ अंक प्राप्त गर्न सफल भयो ।
थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डले ४ खेलबाट ६ अंक प्राप्त गर्न सफल रह्यो । अब उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ ।
तेस्रो स्थानका लागि बिहिबार र फाइनल खेल शुक्रबार हुनेछ । छैटौँ एनसेल टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ पाँच टिम सहभागि थिए । जस मध्ये नेपाल आर्मी बाहिरिएको छ ।
