एलिट यू–१४ अस्ट्रेलियन ओपनमा शिवालीको विजयी यात्रा सुरू

पोखरा स्पोर्ट्स । नेपाली जुनियर टेनिसकी उदीयमान स्टार शिवाली गुरुङले अस्ट्रेलियाको मेलबर्नमा सुरू भएको एलिट अस्ट्रेलियन ओपन एलिट जुनियर टेनिस प्रतियोगितामा शानदार जितसहित आफ्नो अभियानको भव्य सुरुआत गरेकी छन् ।

आज भएको पहिलो खेलमै शिवालीले चीनकी जिन्यु झाउलाई रोमाञ्चक संघर्षमा २–१ सेटले पराजित गर्दै अन्तर्राष्ट्रिय कोर्टमा आफ्नो दमदार उपस्थिति दर्ता गराएकी हुन् ।

अस्ट्रेलियन ओपनसँग सम्बद्ध ‘एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी’ अन्तर्गतको उक्त खेलमा शिवालीले पहिलो सेट ६–१ ले एकतर्फी रूपमा कब्जा गरिन् । दोस्रो सेटमा भने चीनकी जिन्युले ३–६ ले खेल बराबरी गरेकी थिइन् ।

निर्णायक तेस्रो सेटमा खेल चरम उत्कर्षमा पुगेको थियो । टाइ–ब्रेकरसम्म तानिएको संघर्षपूर्ण सेटमा शिवालीले अद्भुत धैर्यता र आत्मविश्वास देखाउँदै १०–८ ले खेल आफ्नो पक्षमा पार्न सफल भइन् ।

समूह ‘ए’ मा रहेकी शिवालीले अब भारतकी जेन्सी दीपकभाइ कनबर र अस्ट्रेलियाकी जसलिज के विरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।

अस्ट्रेलियन ओपन जस्तो विश्व प्रतिष्ठित प्रतियोगितामा शिवालीको यो जितले सम्पूर्ण नेपाली खेलकुदको शिर उच्च बनाएको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष तथा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले प्रतिक्रिया दिएका छन् ।

अस्ट्रेलियन ओपनमा खेल्ने शिवाली पहिलो नेपाली खेलाडी समेत् हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close