
पोखरा स्पोर्ट्स । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा जारी प्रतियोगिता अन्तर्गत छैटौंँ दिनका खेलहरु रोचक मोडमा पुगेका छन् । टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा जारी प्रतियोगितामा बुधबार हुने खेलसँगै महिला र पुरुष दुवैतर्फ फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

आयोजक संस्थाका सचिव डिबी नेपालीका अनुसार बुधबार महिलातर्फ दुई र पुरुषतर्फ दुई गरी चार खेल हुनेछ । महिलातर्फ न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले आफ्ना तीनै खेल जित्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ । फाइनलमा पुग्ने अर्को टिम भने बुधबारको खेलबाट तय हुनेछ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स दुई जित र एक हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ र बुधबार न्यू डायमण्डसँग प्रतिस्पर्धा गर्नेछ । यता नेपाल पुलिस क्लब एक जित र दुई हारसहित ४ अंकका साथ दौडमा कायम छ र उसले एपिएफ क्लबको सामना गर्नेछ । फाइनल पुग्न नेपाल पुलिस र थाइल्याण्ड दुवैका लागि आफ्ना खेल सोझो सेटमा जित्नु अनिवार्य जस्तै बनेको छ । सोझो सेटमा जित हासिल गर्ने टिमले न्यू डायमण्डसँग फाइनल खेल्नेछ ।
उता पुरुषतर्फ प्रतियोगिता झनै रोमाञ्चक बनेको छ । सिंगल राउण्ड रोविन प्रणालीमा भइरहेको खेलमा पाँचौं दिनसम्म गण्डकी प्रदेश भलिबल संघ चार खेलमध्ये तीन जित र एक हारसहित ९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पर्वत जिल्ला भलिबल संघ भने तीन खेलमा तीनै जितसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ ।
बुधबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब आमनेसामने हुनेछन् भने दोस्रो खेलमा नेपाल आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । नेपाल पुलिस दुई हार र एक जितसहित ४ अंकका साथ चौथो स्थानमा छ भने एपिएफ दुई जित र एक हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ । एपिएफका लागि बुधबारको खेल निर्णायक मानिएको छ—पुलिसलाई सोझो सेटमा पराजित गरे फाइनल यात्रा बलियो बन्नेछ ।
यसैबीच माल्दिभ्स भलिबल एसोसिएसन आफ्ना तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यद्यपि उसले सातौं दिन नेपाल पुलिससँग एक खेल खेल्ने कार्यक्रम छ ।
