डिफेन्डिङ च्याम्पियन पुलिस क्लब गण्डकीसँग पराजित र महिलातर्फ न्यू डायमण्ड उपाधि नजिक

पोखरा स्पोर्ट्स । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा जारी प्रतियोगितामा गण्डकीले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई गण्डकी प्रदेश भलिबल संघले सिधा ३–० को सेटमा पराजित गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी प्रतियोगितामा गण्डकीले पुलिसलाई २५–२२, २५–२० र २५– १४ ले पराजित गर्दै उपाधि नजिक आफूलाई उभ्याएको छ । घरेलु टोली गण्डकीसँगको खेलमा नेपाल पुलिसले सोच अनुरुप खेल प्रदर्शन भने गर्न सकेन । तीन पाकिस्तानी खेलाडीसहित मैदान उत्रिएको गण्डकीसँग सुरुवाती क्षणबाटै पुलिस क्लब अग्रता लिनबाट चुक्यो ।

जारी प्रतियोगितामा गण्डकी प्रदेश तीनमा जित र एकमा हारसहित ९ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने नेपाल पुलिस दुईमा हार र एकमा जितसहित ४ अंक रहेको छ ।

यस्तै पुरुष तर्फनै पाँचौ दिनको खेलमा पर्वत जिल्ला भलिबल संघले आफ्नो तेस्रो खेलमा समेत अपराजित रहँदै कुल ९ अङ्कका साथ अग्रस्थानमा रहन सफल भएको छ भने न्यू डायमण्ड समेत तीन खेल जित्दै ९ अंकका साथ फाइनलमा स्थान बनाउन भएको छ ।

पर्वतले पाहुना टोली मालदिभ्स भलिबल एसोसियसनलाई सोझो ३–० को सेटमा हराउँदै प्रतियोगिताको उपाधि भिडन्तमा आफूलाई उभ्याएको छ । पर्वतले मालदिभ्सलाई पहिलो सेट २५–१७,२५–१८ र २५–१६ ले जित निकाल्यो । यसअघि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो । माल्दिभ्सको यो भने लगातार चौथो हार हो ।

यस्तै महिलातर्फ भएको खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको छ । न्यू डायमण्डले पहिलो सेट २५–११, २५–१९ र २५–२० ले जित निकाल्यो । अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको हो ।

यस्तै महिलातर्फ एक अर्को खेलमा थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकाल्न सफल भएको छ । जारी प्रतियोगितामा पाहुना टोली थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको हो । थाइल्याण्डले २५–११, २५–२१ र २५–१६ ले सहज जित निकाल्न सफल रह्यो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मी आफ्ना चार वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।

नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close