
पोखरा स्पोर्ट्स । पोखरामा जारी एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिन पुरुषतर्फको खेलमा पर्वत जिल्ला भलिबल संघले जित निकालेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबविरुद्ध ३–१ को सहज जित निकालेको हो । पहिलो सेट २५–१८ ले जितेको पर्वतले दोस्रो सेट २१–२५ ले एपिएफलाई सम्पियो ।
तर अन्तिम दुई सेटमा पर्वतले २५–१९ र २५–१५ ले जित्दै पर्वतले जारी प्रतियोगितामा आफूले खेलेको दुबै खेलमा शतप्रतिशत जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा आफूलाई उभ्याएको छ । हिजो भएको खेलमा पर्वतले नेपाल पुलिसलाई ३–२ सेटले पराजित गरेको थियो ।
नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।
