
पोखरा स्पोर्ट्स । पोखरामा जारी एनसेल छैटौं टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ टिमले पाहुना टोली मालदिभ्स भलिबल क्लब विरुद्धको खेल जित्दै प्रतियोगितामा आफूलाई फर्काएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा गण्डकीले मालदिभ्सलाई सिधा ३–० को सेटमा पराजित गरेको हो । तीन पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रिएको गण्डकीले पहिलो सेटबाट नै पाहुना टोलीलाई दबावमा राख्यो । गण्डकीले पहिलो सेट २५–१३ मा जित्दै खेलमा बढत लियो । त्यस्तै दोस्रो सेट २५–१४ ले जित्दा तेस्रो सेट २५–२१ ले जित्न सफल रह्यो ।
गण्डकीले एपिएफ विरुद्धको खेलमा ३–१ सेटले पराजयको सामना गरेको थियो । गण्डकीले यो जित सँगै ३ अंक हात पारेको छ ।
यस्तै शनिबार नै भएको महिलातर्फको खेलमा विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले जित निकालेका छन् । नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई ३–१ सेटले हराएको हो ।
पुलिसले पहिलो सेट १६–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ तथा चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो ।
यो हारसँगै नेपाल आर्मी क्लबको प्रतियोगितामा दोस्रो पराजय बेहोरोको छ । यसअघि पहिलो दिनको खेलमा पनि आर्मी क्लब टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । जितमा नेपाल पुलिस क्लबकी एलिशा मानन्धर उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
त्यस्तै महिलातर्फको दोस्रो खेलमा पाहुना टोली थाइल्याण्ड क्विन्स विरुद्ध एपिएफ क्लबले ३–२ को कठिन जित निकालेको छ । पहिलो सेट २५–२३ दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो । थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को जित निकाल्दा पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चक जित निकाल्न सफल भयो । सो खेलमा एपिएफकी निरुत ठगुन्ना प्लेयर अफ दि म्याच बनिन ।
नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।
