
पोखरा स्पोर्ट्स । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेदरल्याण्डसले नेपाललाई पराजित गरेको छ । विहिबार सम्पन्न समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले अविजित ३७ रन बनाए पनि जिताउन सकिनन् । त्यस्तै बिन्दु रावलले १९, सिता राना मगरले अविजित २७ रन बनाएकी थिइन् ।
यसअघि नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेदरल्याण्डसका लागि कप्तान बाबेट डे लिड्सले सर्बाधिक ४९ रन बनाएकी थिइन् भने स्टेरे कालिसले ३० रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने सोमु बिष्ट, पुजा महतो र रिया शर्माले एक एक विकेट लिएका थिए ।
जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि नेपाल पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । त्यसैगरी नेदरल्याण्डसले भने लगातार तेस्रो जित हासिल गरेको छ । अब नेपालले अर्को खेल शनिबार जिम्बाबेसँग खेल्ने तालिका छ ।
