
पोखरा स्पोर्ट्स । छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको मिति नजिकिँदै जाँदा सहभागी टिमहरूमा विदेशी खेलाडी भित्र्याउने प्रतिस्पर्धा बढ्दै गएको छ । यसै क्रममा प्रतियोगितामा सहभागिता जनाएको पर्वत जिल्ला भलिबल संघले आफ्ना तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ ।
पर्वत टिमका सहायक प्रशिक्षक युवराज भण्डारीले पर्वतको टिममा खेल्ने तीन पाकिस्तानी खेलाडी सोमबार काठमाडौं आइपुगेको पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् ।
पर्वत टिमबाट दीन फखर उद्, नाभिद मुहम्मद काशिफ र मुवाशर राजा खेल्नेछन् । टिमको कप्तानी भने युवा खेलाडी सुवास कुँवरलाई जिम्मा दिइएको छ ।
टाइगर कपमा पहिलोपटक सहभागिता जनाउन लागेको पर्वत जिल्ला भलिबल संघ उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा होमिने सहायक प्रशिक्षक भण्डारीले बताएका छन् ।
