टाइगर कप भलिबल : मालदिभ्स टोली आजै पोखरा आइपुग्ने

पोखरा स्पोर्ट्स । एनसेल छैटौं टाइगर कप भलिबलमा सहभागिता जनाउन मालदिभ्सको पुरुष टोली आजै पोखरा आइपुग्ने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालामा आयोजना हुने सो प्रतियोगितामा पहिलो पटक मालदिभ्सको मालदिभ्स भलिबल एशोसिएसन क्लबले सहभागिता जनाउने भएको हो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेसँगै विदेशी क्लब टोली मध्येको एक मालदिभ्स टिम काठमाण्डौ त्रिभुवन विमानस्थलमा अवतरण गरेसँगै आजै पोखरा आइपुग्ने भएको प्रतियोगिताका संयोजक राज कुमार गुरूङ (कुमार)ले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् । टोलीले पोखरामा भोलीबाट नियमित अभ्यास सुरू गर्ने संयोजक गुरूङले जानकारी दिए ।

काठमाण्डौ आएको टोलीलाई टाइगर ग्रुपका सह कोषाध्यक्ष जिवन भण्डारी, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहलगायतले स्वागत गरेका थिए ।

माल्दिभ्स भलिबल टोलीमा मोहम्मद अहमद आइहम, शाहिद हुसैन, अली अहमद इल हम, फाइरुज आदम, अब्दुल्ला शाइन, हमीद याएश रिफाथ, मोहम्मद शामिल, हसन इब्राहिम राकिन, अहमद माआइश, अली इयान, नियाज माउजुन, नाफिउ अहमद, अली मोहम्मद लथफान र हसन हैलाम रहेका छन् । त्यस्तै टोलीको म्यानेजरमा मोहमद इहाम, सहायक प्रशिक्षकद्वयमा नसरुल्ला तोहा र अली जाइम रहेका छन् ।

पुरुषतर्फ मालदिभ्स भलिबल एशोसियसन क्लबसहित भारतको गुजरात राज्यको गुजरात भलिबल क्लबसहित गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लबको सहभागिता हुनेछ ।

छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले प्राप्त गर्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

टाइगर कप भलिबल प्रतियोगितामा नेपालका विभागिय टोलीहरुसहित अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close