
पोखरा स्पोर्ट्स । खेलकुद सबैका लागि हो भन्ने मान्यतालाई व्यवहारमा उतार्ने लक्ष्यसहित नेत्रहीन क्रिकेट संघ नेपालले देशभर समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण अभियान सुरु गरेको छ । विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा सन् २०२६ भित्र सातै प्रदेशका १७ स्थानमा यस्ता संरचना निर्माण गर्ने महत्वाकांक्षी योजना अघि बढाइएको हो ।
अभियानको औपचारिक सुरुवात गण्डकी प्रदेशको पर्वत जिल्लास्थित शिवालय माध्यमिक विद्यालयबाट गरिएको छ । दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिका मात्र नभई अन्य प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई समेत खेलकुदमा समेट्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
नेपालका अधिकांश विद्यालय तथा समुदायमा अपाङ्गता भएका बालबालिकाहरूलाई खेलकुदभन्दा बढी गायन, नृत्यजस्ता सीमित अतिरिक्त क्रियाकलापमा मात्र सहभागी गराइने गरेको यथार्थ अझै विद्यमान छ । खेलकुदमा सहभागी हुने चाहना, क्षमता र उत्साह हुँदाहुँदै पनि आवश्यक पूर्वाधार, स्रोत–साधन, दक्ष प्रशिक्षक र अवसरको अभावले उनीहरू खेल मैदानबाट टाढा रहन बाध्य छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै नेत्रहीन क्रिकेट संघ नेपालले समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माणको पहल थालेको हो । संघका अनुसार यस्ता संरचनाले अपाङ्गता भएका बालबालिकाहरूलाई सुरक्षित र सहज वातावरणमा खेलकुद अभ्यास गर्ने अवसर प्रदान गर्नेछ । यसले उनीहरूको खेल सिप विकास, शारीरिक तथा मानसिक पुनर्स्थापना (rehabilitation) र आत्मविश्वास अभिवृद्धिमा समेत सहयोग पुर्याउने विश्वास लिइएको छ ।
संघले यस्ता संरचना निर्माणपछि अपाङ्गता भएका बालबालिकाहरूको खेलकुदमा सहभागिता उल्लेखनीय रूपमा बढ्नुका साथै समाजमा विद्यमान नकारात्मक धारणा र भेदभाव हटाउन समेत योगदान पुग्ने अपेक्षा गरेको छ । खेलकुदलाई सामाजिक समावेशीकरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्दै सबैका लागि समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता संघले व्यक्त गरेको छ ।
अभियान अन्तर्गत धरानदेखि कञ्चनपुर र काठमाडौं उपत्यकादेखि सुर्खेत, बर्दियासम्म १७ स्थानमा समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण गरिनेछ । विद्यालय केन्द्रित यी संरचनाबाट सयौँ अपाङ्गता भएका बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
समावेशी खेलकुद पूर्वाधारमार्फत अपाङ्गता भएका बालबालिकालाई मैदानमा ल्याउने नेत्रहीन क्रिकेट संघ नेपालको यो अभियानले खेलकुद मात्र होइन, समाजको सोच परिवर्तन गर्ने दिशामा पनि नयाँ सम्भावनाको ढोका खोलेको छ ।
कहाँ–कहाँ बन्दैछ यस्तो पिच
१। श्री पुर्वान्चल ज्ञानचक्षु माध्यमिक विद्यालय – धरान
२। श्री नारायणी माध्यमिक विद्यालय – चितवन
३। श्री शिवालय उच्च माध्यमिक विद्यालय – पर्वत
४। श्री पृथ्वी नारायण माध्यमिक विद्यालय – काठमाडौं
५। श्री अमरसिंह माध्यमिक विद्यालय – कास्की
६। त्रि जुद्ध उच्च माध्यमिक विद्यालय – पर्सा
७। श्री मंगल प्रसाद उच्च माध्यमिक विद्यालय – बर्दिया
८। श्री श्रिखर माध्यमिक विद्यालय – सुर्खेत
९। श्री शान्ति नमुना उच्च माध्यमिक विद्यालय – रुपन्देही
१०। श्री राष्ट्रिय उच्च माध्यमिक विद्यालय – बाँके
११। श्री पंचदय उच्च माध्यमिक विद्यालय – कैलाली
१२। श्री भुवनेश्वरी उच्च माध्यमिक विद्यालय – कञ्चनपुर
१३। श्री ल्याब्रोटरी माध्यमिक विद्यालय – काठमाडौं
१४। श्री संजीवनी उच्च माध्यमिक विद्यालय – काभ्रे
१५। श्री आदर्श उच्च माध्यमिक विद्यालय – भक्तपुर
१६। श्री झुवानी माध्यमिक विद्यालय – चितवन
१७। श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय – वीरेन्द्रनगर
