
पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद परिषद गण्डकीले आसन्न १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । मंगलबार प्रदेश खेलकुद परिषदमा दर्ता रहेका विभिन्न खेल संघहरुको बैठकमा सदस्य सचिब श्रीधर शर्माले सो जानकारी दिंदै तयारी सुरू गर्न खेल संघहरुलाई निर्देशन दिएका हुन् ।
परिषदले यहि माघ ८ गते देखि १३ गते सम्म १६ वटा खेलका जिल्ला छनौट प्रतियोगिता र १७ वटा खेलहरु सोझै छनौट हुने गरी प्रक्रिया अघि बढाएको छ । विशेष गरी नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट हुन सफल खेलहरुलाई जिल्ला छनौटमा राखिएको छ भने अन्यलाई सोझै छनौट हुने गरी तय गरिएको सदस्य सचिब शर्माले बताए ।
जिल्ला र प्रदेश छनौट गर्न आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजित १ करोड ८० लाख रुपैयाँ खर्च गर्न लागिएको परिषदले जनाएको छ । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले अब खेलकुद संघमा आचारसंहिताको कडाईका साथ पालन गर्ने बताउँदै खेलकुद ऐन अनुसार गठन नभएको जिल्ला र प्रदेशहरु खारेज गर्ने बताए । उनले भने–“अब हामी आचारसंहिता र खेलकुद ऐन पालना नगर्ने खेल संघ हरुलाई खारेज गर्दैछौंं । दर्ता नभएका खेल संघहरुले लेटरप्याड र छाप प्रयोग गरेमा हामी किर्तेमा मुद्धा चलाउने छौं ।” उनले सबै खेलसंघहरुलाई कम्तिमा तीन पालिका गठन गरी जिल्ला गठन गर्न र पाँच जिल्ला भएका खेल संघहरुलाई प्रदेश संघ गठन गर्ने गरी तय गरिएको जनाए ।
प्रदेशको खेलकुद विकासलाई साझा अवधारणामा अघि बढाउने प्रयास अनुरुप सुशासन कायम गर्दै खेलाडीहरुको विमा, खेलाडी कल्याणकारी कोष, छात्रवृति लगायतका कार्यक्रमहरु अघि सारेको सदस्य सचिब शर्माले बताए । परिषदले अब २५ वर्षे छोटो र लामो अवधिको रणनितिक योजना बनाएर अघि बढ्ने बताउँदै भने–“अहिले जिल्ला–जिल्लामा खेलकुद भित्र अराजकता बढेको छ । अनुशासन र खेलकुद ऐनको पालना हुन नसक्दा निराशा बढेको छ ।” खेलकुदमा एक अर्कालाई सम्मान गर्न र आचारसंहिता कडाइका साथ लागु गर्न परिषद अभिभावकको भुमिका खेल्न तयार रहेको उनको भनाई थियो ।
परिषदमा सदस्यहरुको गुनासो
सो अवसरमा नवनियुक्त परिषदका सदस्यहरु संग खेल संघका पदाधिकारीहरु सँग परिचायत्मक कार्यक्रम समेत भएको थियो । सो अवसरमा परिषदका सदस्यले आफूहरुलाइ परिषदले नयुक्ति भएर आउँदा समेत कुनै भूमिका नदिएको बताउँदै गुनासो पोखेका थिए । उनीहरुले भने–“हामीलाई परिषदको सदस्य हो भन्ने कसैले चिनेन । न त आसन ग्रहण गराउँछन् । नत खेलकुद कार्यक्रममा बोलाउँछन् हामीलाई चिन्ने केहीले खेलकुद सामाग्री माग्छन् । हामीले कहाँबाट ल्याएर खेल सामाग्री बाँड्ने ? उनीहरुले प्रतिप्रश्न गर्दै भने–“खेल सामाग्री बाँड्ने अधिकार परिषदका सदस्यहरुलाई दिनु पर्छ ।” तर सदस्यहरुको जवाफ दिंदै सदस्य सचिब शर्माले क्लबहरुलाई बाँड्ने गरी परिषद संग कुनै वजेट नभएको सुनाएका थिए ।
कार्यक्रममा परिषदका सदस्य दिल बहादुर गुरूङ, कार्यालयका प्रशासन प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले खेल संघका विभिन्न प्रश्नहरुका बारेका जानकारी दिएका थिए ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रिय तालिका अनुसार यहि फागुन १ देखि ७ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुनेछ । तर आयोजक राष्ट्रिय खेलकुद परिषदले १०औंमा कति खेल समावेश गर्ने भन्ने बारे अझै टुङ्गो लगाएको भने छैन । यद्यपी सबै प्रदेश र विभागिय टोलीहरुले आन्तरिक रुपमा आफ्नो तयारी भने थालेका छन् । नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जितेको थियो ।


