त्रिकोणात्मक टि२० क्रिकेट शृंखला : यू–१४ तर्फ कास्की र यू–१६ तर्फ काठमाण्डौको विजयी सुरुआत

पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा क्रिकेट मैदानमा आइतबारबाट त्रिकोणात्मक यू–१४ र यू–१६ टि२० क्रिकेट शृंखला सुरू भएको छ ।

सो अन्तर्गत लिग चरणको उद्घाटन खेलमा सेन्ट्रल क्रिकेट एकेडेमी यू–१४ (कास्की) ले सेन्ट्रल एक्सिलेन्स सेन्टर यू–१४, काठमाडौं लाई ३१ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

आइतबार सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको कास्कीको टोली २० ओभरमा ४ विकेटको क्षतिमा १२८ रनमै सीमित भयो । कास्कीका लागि सइदुल्ला अन्सारीले उत्कृष्ट प्रदर्शन गर्दै ५४ बलमा ४ चौकासहित ४२ रन बनाए । कप्तान आरुष भण्डारीले ३७ बलमा २ चौकासहित २९ रनको योगदान दिए । अतिरिक्त रूपमा कास्कीले ३७ रन प्राप्त गर्‍यो ।

जवाफमा १२९ रनको लक्ष्य पछ्याएको काठमाडौंको टोली १५.३ ओभरमै अलआउट हुँदै ९७ रनमै सीमित भयो । टोलीका लागि समाग्य राज रेग्मी ले ३७ बलमा ४ चौकासहित सर्वाधिक ४० रन बनाए । तर अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा काठमाडौं लक्ष्यसम्म पुग्न असफल रह्यो ।

बलिङतर्फ कास्कीका श्रिजेत सुबेदी, क्रिम्सन श्रेष्ठ, ओम जंग कार्की र अदीप जंग कुँवर ले समान २–२ विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि कास्कीका सइदुल्ला अन्सारी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यता आज नै भएको खेलमा सत्याम बस्नेतको शानदार अर्धशतकको मद्दतमा सेन्ट्रल एक्सेलेन्स सेन्टर यू–१६ ले झापा क्रिकेट एकेडेमी यू–१६ लाई ४५ रनले पराजित गरेको छ ।

२० ओभरको खेलमा पहिले ब्याटिङ गरेको सेन्ट्रल एक्सेलेन्स सेन्टरले ५ विकेट गुमाउँदै १५५ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो । टोलीका लागि सत्याम बस्नेतले ६६ बलमा १२ चौका सहित ८० रनको उत्कृष्ट इनिङ्स खेले । उनलाई प्रशिद्धा जैसीले १४ बलमा १२ रन बनाएर साथ दिए । जमाल रेन (१२) र कुशल बीसी (११) ले पनि उपयोगी योगदान गरे । झापाका बलरमध्ये अङ्कित आचार्य, दर्पण सापकोटा र उज्वल खड्किवडाले समान १–१ विकेट लिए ।

१५६ रनको लक्ष्य पछ्याएको झापा क्रिकेट एकेडेमी यू–१६ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रनमै सीमित भयो । झापाका लागि क्षितिज प्रसाईंले ४३ बलमा ६ चौका सहित ३८ रनको संघर्षपूर्ण इनिङ्स खेले । समिर बुधाथोकी १० रनमा अविजित रहे ।

सेन्ट्रल एक्सेलेन्स सेन्टरका बलरहरूले कसीला बलिङ प्रस्तुत गरे । जमाल रेनले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । अर्जुन बोहराले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र ६ रन दिएर १ विकेट लिए । आर्यन पोखरेलले २ विकेट हात पारे भने अभिनव खड्काले १ विकेट लिए ।

यस जितसँगै सेन्ट्रल एक्सेलेन्स सेन्टर यू–१६ ले प्रतियोगितामा आफ्नो बलियो उपस्थिती जनाएको छ ।

यस अघि सो प्रतियोगिताको एक कार्यक्रमका बीच कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गरे । सो अवसरमा उनले युवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाउँदै यो नयाँ अभ्यासले सबैलाई उत्साहित बनाएको जनाए ।

प्रतियोगितामा कास्की, काठमाण्डौ र झापाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close