
पोखरा स्पोर्ट्स । कास्की जिल्ला एथलेटिक्स संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
कास्की एथलेटिक्सको दोस्रो साधारण सभा विभिन्न प्रस्ताव तथा कार्यक्रमहरु पारित गर्दै सम्पन्न भएको छ । जिल्लामा एथलेटिक्स खेलको विकासका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको संघले यस आर्थिक वर्षमा थप दुई वटा महत्वपूर्ण कार्यक्रम अघि सारेको सचिब सिद्धान्त अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार माघको २३ र २४ गते राष्ट्रिय रेफ्रि रिफ्रेशर कोर्ष र चैत्र २५ र २६ गते पोखरा ओपन एथलेटिक्स मिट आयोजना गर्ने भएको छ ।

यस अघि कास्की एथलेटिक्सले गत कार्तिकमा पोखरा १०के रेस, मंसिरमा राष्ट्रिय एथलेटिक्स रेफ्रि लाइसेन्स कोर्ष सम्पन्न गरिसकेको छ । खेलाडी उत्पादनमा विशेष प्रशिक्षण गर्दै आएको कास्की एथलेटिक्सले पोखरा रंगशालाको एथलेटिक्स ट्रयाको सरसफाईलगायतका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
संघका पूर्व अध्यक्ष खेम गुरूङको प्रमुख आतिथ्यतमा भएको साधारण सभामा जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङ, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा १२औं एसियाली खेलकुदमा सहभागिता जनाएका पूर्व एथलेटिक्स खेलाडी सोम रानालाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।
संघका अध्यक्ष गज बहादुर गुरूङको अध्यक्षतामा भएको साधारण सभामा वरिष्ठ उपाध्यक्ष हरि बहादुर थापा, सचिब अधिकारी र कोषाध्यक्ष गोप बहादुर अधिकारीले आ–आफ्ना भनाई राखेका थिए । कोषाध्यक्ष अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आय तर्फ १३ लाख ५२ हजार तथा खर्चतर्फ रु १३ लाख ३९ हजार ४४२ तथा बचत तर्फ १२ हजार ५५८ रहेको आय–व्यय प्रस्तुत गरेका थिए ।
