पोखरा रंगशाला मर्मत–स्तरोन्नतीका लागि राखेपसँग परिषदले माग्यो बजेट

पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशालाअन्तर्गत रहेका विभिन्न खेलकुद पूर्वाधारको मर्मत, सुधार तथा स्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग बजेट माग गरेको छ ।

परिषदले राखेपलाई लेखेको पत्रमार्फत पोखरा रंगशालाभित्र रहेका ८ वटा प्रमुख खेल पूर्वाधार मर्मत तथा स्तरोन्नतीका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२/०८३ मा गण्डकी प्रदेशभित्रका खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नतीका लागि ११ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको उल्लेख गर्दै सो बजेटलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

पत्रअनुसार पोखरा रंगशालाभित्र रहेका पूर्वाधार अन्तर्गत

  • भलिबल कोर्टमा प्याराफिट तथा कोर्ट मर्मत–स्तरोन्नती ।
  • फुटबल रंगशालाको ड्रेसिङ रुम, प्लेयर बक्स तथा खेलाडी चेन्जिङ कक्ष निर्माण, फर्निचर व्यवस्थापन र फ्लड लाइट जडान ।
  • टेनिस कोर्ट मर्मत तथा स्तरोन्नती ।
  • तेक्वान्दो ट्रेनिङ हलको स्तरोन्नती तथा निर्माण ।
  • ह्यान्डबल कोर्ट प्याराफिटसहित कोर्ट मर्मत तथा स्त्तरोन्नती ।
  • सुटिङ ट्रेनिङ हल स्तरोन्नती तथा निर्माण ।
  • पोखरा रंगशालाभित्र निर्माणाधीन गल्फ कोर्षको स्तरोन्नती तथा निर्माण ।
  • अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नसक्ने पौडी पोखरी निर्माण ।

आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका दृष्टिले समेत पोखरा रंगशालाका पूर्वाधार मर्मत तथा स्तरोन्नती अत्यन्तै महत्वपूर्ण रहेको जनाउँदै परिषदले फुटबल स्टेडियममा फ्लड लाइट जडानसहित पौडी पोखरी निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेको पत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close