
पोखरा स्पोर्ट्स । पोखरा २५ हेमजास्थित विष्णु पादुका क्लबले प्रथम महिला आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले सो प्रतियोगिता यहि माघ १ देखि ३ गते सम्म आयोजना गर्ने भएको हो । सो प्रतियोगिता हेमजास्थित विष्णु पादुकाको आफ्नै खेल मैदानमा आयोजना हुनेछ ।
कास्की फुटबल संघमा दर्ता रहेको क्लब मध्ये विष्णु पादुकाले हरेक वर्ष पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस पटक महिला फुटबलको प्रवर्द्धनका लागि सो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका पूर्व अध्यक्ष रमेश कार्कीले जनाएका छन् ।
प्रतियोगितामा कास्कीसहित विभिन्न जिल्लाका गरी कुल ८ टिमको सहभागिता रहने जनाउँदै उपाधि बिजेता टिमलाई नगद ५० हजार, उपविजेतालाई २५ हजार र दुई सेमीफानालिष्ट टिमलाई समान नगद रु १०–१० हजारका साथमा ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।
आर एस बीच फुटबल क्लबले आगामी चैत्रमा आयोजना गर्न लागेको महिला गोल्डकप सँगै यहि माघ १५ गतेबाट हुने भनिएको साफ यू–१९ च्याम्पियनसिपलाई समेत सहयोग पुग्ने हेतुले सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले भावि दिनमा महिलाहरुलाई फुटबल खेलतर्फ आकषर्ण गर्न सह्योग पुग्ने जनाइएको छ ।

