
पोखरा स्पोर्ट्स । साबिक विजेता एपीएफ क्लब ३३औं त्रिवेणी कपको उपाधि नजिक प्रवेश गरेको छ ।
बेसिसहरस्थित त्रिवेणी रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै लगातार फाइनलमा स्थान बनाएको हो ।
एपीएफका अनिश घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे । दीपेश धिमाल र महेश लामाले गोल गर्न सकेनन् ।
मर्स्याङ्दीका अरोन थापा, विलियम एलेन र निग्मा मगरले गोल गरे । पोषण थापा, अभिषेक महतो र अविनाश स्याङ्तानले गोल गर्न असफल रहे ।
त्यसअघि १० खेलाडीमा सीमित एपीएफले मर्स्याङ्दीसँग १–१ को बराबरी खेलेका थिए ।
खेलको ४१औं मिनेटमा मर्स्याङ्दीले ओलावले अफिजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो ।
८८औं मिनेटमा भने एपीएफ १० खेलाडीमा सीमित रह्यो । मणिकुमार लामाले रातो कार्ड पाए । दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा मानबहादुर रानाले गोल गर्दै टाइब्रेकरमा खेल लगे ।
