रातिसम्म मैदान सुधार, पोखरामा अन्तर्राष्ट्रिय फुटबल पुनरागमनको तयारी तिव्र

पोखरा स्पोर्ट्स । पोखरा लामो समयपछि पुनः अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)अन्तर्गत आगामी माघ १५ गते देखि आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप पोखरामा हुने निश्चित भएसँगै पोखरा रंगशालास्थित फुटबल मैदानको स्तरोन्नतिको काम तीव्र बनाइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान उपयुक्त नभएको भन्दै साफ प्रतिनिधिले चासो व्यक्त गरेपछि मैदान सुधारको प्रक्रिया सुरु गरिएको थियो । प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी पाएको गण्डकी प्रदेश फुटबल संघले गत शुक्रबारदेखि दिन–रात नभनी मैदान सुधारको काम अघि बढाएको छ ।

माघ १५ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै मैदानमा नयाँ दुवो उमार्ने सँगै मैदानमा माटो भर्ने, नयाँ घाँस रोप्ने कार्यसंगै प्रशस्त मात्रामा पानी मैदानमा हालेर स्त्तरोन्नती गर्ने कार्य राती अवेर सम्म भइरहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जनाएका छन् । उनका अनुसार मैदान सुधारमा करिब पाँच लाख रुपैयाँ खर्च हुने छ । “दुवो राम्रोसँग उम्रन विशेष प्रकारको माटो आवश्यक पर्छ, साधारण माटो वा बालुवा प्रयोग गर्न मिल्दैन,” उनले बताए । पहिलो चरणमा उपयुक्त माटो बिछ्याइने कार्य भइरहेको र त्यसपछि मल छर्ने योजना रहेको उनले जानकारी दिए ।

मैदान मर्मतका लागि एन्फाका प्राविधिक दिलिप रजकको नेतृत्वमा १० जनाको टोली एक साता देखि अनवरत रुपमा मैदानमा खटिएको महासचिब गुरूङले बताए ।

मैदानसँगै खेलाडीहरुलाई आवश्यक पर्ने अन्य सुविधामा पनि सुधारका लागि पहल सुरू गरिएको छ । पोखरा फुटबल स्टेडियममा हालको ड्रेसिङ रुम प्राविधिक रूपमा त्रुटिपूर्ण रहेको र एन्फाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ ड्रेसिङ रुम, शौचालय, बाथरुम, फर्निचर तथा ग्राउण्ड प्लेयर बक्स निर्माण गर्न सहजीकरण गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिकासँग सहकार्य भइरहेको बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ चार वटा ड्रेसिङ रुम, शौचालय–बाथरुम, फर्निचर तथा ग्राउण्ड प्लेयर बक्स निर्माण गर्न करिव २७ लाख खर्च हुने उनको भनाई छ ।

पोखरामा नयाँ रंगशाला निर्माण पछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुन सकेको थिएन । सात वर्षअघि १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल निर्माणाधीन मैदानमै आयोजना भएको थियो । त्यसयता पोखरामा नियमित रूपमा आयोजना हुँदै आएको ठूलो प्रतियोगिता भने आहा! रारा गोल्डकप मात्र हो ।

साफ यू–१९ महिला च्याम्पियनसिपसँगै पोखरा पुनः अन्तर्राष्ट्रिय फुटबलको नक्सामा फर्किने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close